विसं २०३२ मा इलाममा जन्मिनुभएकी सरु सुवेदी नेपालको सामाजसेवी नाम हो । उहाँ सानैदेखि समाजसेवामा लाग्नुभएको हो ।
खान नपाएका अर्थात सडक बालबालिका,दुर्गममा टुहुरा छोराछोरी विद्यालय जान नपाएकाहरु, बेसहारा बृद्धबृद्धा तथा घर समाजमा अपहेलनामा परेका महिलाहरुको अवस्था देख्दा उनलाई दया जागेर आउँथ्यो । त्यसैले अभाव र अव्यवस्थाका बीचको नेपाली समाजमा केही गरौँ भन्ने भावना आउन थालेपछि उनले सानो उमेरदेखि नै समाजसेवाको मानसिकता बनाएकि हुन् । मानिसहरुको यस्तो अवस्थाले उनलाई छोएपछि तिनको सहयोगी र सहारा कसरी बन्न सक्छु र त्यसको विकल्प के हुनसक्छ भनेर सोच्दै र मनन् गर्दै आएकि उनीसँग यसका लागि साधान स्रोत भने थिएन ।
यत्तिकैमा विसं २०५० मा उनकी आमा तुलसादेवीको निधन भयो । आमाको निधन भएपछि उनले घरपरिवारमा अब घरकी सानी छोरीमात्र भएर बस्न पाइनन् कि पाको मानिसका रुपमा ब्यबस्थापकिय भुमिका निभाउनु पर्ने अवस्था आयो । जीवनका यस्तै आरोह अवरोहकाबीच उनको विवाह भयो । आफ्नी सानी छोरी र श्रीमानलाई घरमै छोडेर उनी वैदेशिक रोजगारीकै सिलसिलामा इजरायल गइन् । उनले त्यहाँ पनि बृद्धबृद्धा र मानसिक रोग भएकाहरुको सेवा गर्नुपर्ने काम आइलाग्यो । सानैदेखि आफूले यस्ता बेसहाराहरुको सहारा बन्नु पाए उनीहरुको कति उद्धार हुन्थ्यो होला भन्ने लागेर मन कटक्क खान्थ्यो । पुनः यही सोच दोहोरियो उनको मानसपटलमा । र उनीहरुको सेवा गर्दै आइन् । हरेक दिन हरेक बृद्धबृद्धा एवं मानसिक रोग भएकाहरुको रिपोर्ट कार्ड बनाउँथिन् र उनीहरुमा के कति व्यवहार र स्वास्थ्यमा परिवर्तन आयो भनेर हेर्थिन् । आफै बनिन् डाक्टर । उनलाई थाहा भयो कि मानिसलाई दबाईले भन्दा पनि व्यवहारले निको पार्न सक्दोरहेछ । औषधिका कैयाँै चक्कीले भन्दा पनि एउटा मिठो बोली र व्यहारले मानिसको यस्तो प्रकारको रोगमा परिवर्तन ल्याउन सकिँदोरहेछ भन्ने बारेमा थाहा भयो ।
आफूले बैदेशिक रोजगारीका सिलसिलामा कमाएको दुइ चार पैसाबाटै पो स्वदेश फर्किएर केही गर्न सक्छु कि भन्ने सोचमा अंकुर पलायो । पहिले केही गर्छु भन्ने मनमा आएपनि स्रोतको अभाव भोगेको मनले आफैले कमाएर हातमा दुई चार पैसा आएपछि यस प्रकारको योजना मनले बनाउँछ नै । त्यहाँबाट आर्जन गरेको रकमले नेपालमा गएर समाजसेवा गर्ने उनको योजना मनभित्रै बन्न थाल्यो । विदेश गएर कमाएको पैसाले कहाँ घडेरी किन्ने, कस्तो घर बनाउने भन्ने भन्दा पनि नेपाल गएर गरिबदुखीको सहयोगी बन्ने र बेसहाराको सहारा बन्ने योजनामा उहाँ हुनुहुँन्थ्यो ।
विसं २०६९ सालदेखि नै उनले बाढी पहिरोमा परेका, अखबारहरुमा बेसहरा भइ समाजमा रहेका व्यक्तिहरुका बारेमा आएका समाचारका विषयमा ध्यान दिएर उनले आफैले सहयोग गर्न थालिन् । औपचारिक रुपमा यो संस्था स्थापना नभएको भए पनि आमाको स्मृतिमा तुलसादेवी फाउन्डेसनका नामबाट उनले सहयोग गर्न थालिन् । त्यसपछि २०७२ सालको भूकम्पमा परेका पीडितहरुका लागि उनले सहयोग उपलब्ध गराउन थालिन् । यसलगत्तै नाकाबन्दी र तराईमा गएको हावाहुरीले लथालिङ्ग पारेको ८०० परिवारलाई आर्थिक सहयोग साथै खाध्यान्न ब्यबस्थापन गरिन र औपचारिक रुपमा नै २०७५ सालमा संस्था दर्ता गरिन् ।

कोरोना महामारीमा परेका मानिसहरुका लागि घरैमा खाना बनाएर लगि सडकमा बाँड्न थालिन् । उनीहरुले कोरोनाको समयमा घरैमा खाना बनाएर दिनदिनै सडक छेउ र कतै बेसहारा बनेका नागरिकहरुलाई बाँड्न थालिन् ।
त्यसक्रममा उनले आफूले इजरायलमा कमाएर किनेको ललितपुरको चार आना जग्गा बेच्नुपरेको थियो । जग्गा बेचेरै समाजसेवा गरेको त ? यस प्रश्नको जवाफमा उनी भन्छिन्, मानिसको चोला सकिने के बेर ? यस्तो महामारी छ, मर्ने बाँच्ने थाहा छैन । सडकमा मानिस खान नपाएर छट्पटाइरहेका छन् । त्यो जग्गाको टुक्राले के दिन्छ र ? उनीहरुको घाउमा मल्हम पट्टी लगाउन पाए पो हुन्छ त ? बाँचिएछ जोडौँला नि जमिन भन्ने ठानेँ र जग्गा बेचेरै समाजसेवा गरेकी हुँ ।
आफ्ना आमाको स्मृतिमा तुलसादेवी हरिहर फाउन्डेसन । उहाँका पिताजी हरिहर हुनुहुन्छ र छोरीको सहयोगी काम देखेर दंग हुनुहुन्छ । सो फाउन्डेसनले सकड बालबालिका र बृद्धबृद्धा आमाबा तथा मानसिक रोग भएकहरुलाई सहारा दिनका लागि तुलसालय आश्रम सञ्चालनमा ल्यायो । सो आश्रममा १९ दिनकी शिशुदेखि ८० बर्षका बासम्म रहेका छन् । त्यस्तै मानसिक रोग भएका, घरेलु हिंसामा परेका महिला र बालिका आदि रहेका छन् । अहिले सो संस्थामा ४५ जना बालबालिका आश्रित छन् । बृद्ध–बृद्धा र मानसिक रोगीहरु १९ जना हुनुहुन्छ। ती मध्ये २२ जना बालबालिका विद्यालय जान्छन्। विद्यालय आश्रमबाट करिब ३० किलोमीटर छ । बिहान बेलुकै लाने ल्याउने गरिएको छ र आफ्नो साधन नभएकाले ती बालबालिकालाई बसमा राखेर विद्यालय पुर्याउने र बेलुका ल्याउने गरिन्छ ।
अहिले सरुसँग साधन स्रोतको खाँचो छ । तर प्रहरीले भने सडकमा यस्ता मानिस देख्यो कि तुलसालयको भर मान्छ र आश्रममा मध्य रातमा समेत ल्याइदिन्छ । तर त्यस्तो व्यक्तिलाई देखेपछि उनले पनि नराखौँ भन्न सक्दिनन् । बस्ने ठाउँ छैन, खाने खाद्यान्न छैन, विद्यालयको फि तिर्ने पैसा छैन, चाडबाड आउँछन् केटाकेटीले थाहा पाउँछन् कपडा लाउने खाने कुराको अपेक्षा गर्छन् । भनेजस्तो हुँदैन, पुग्दैन । कसरी चलेको छ त ? सरु भन्नुहुन्छ, भगवानले पुर्याएका छन् । उनलाई सरकारी सहयोग छैन । समाजकल्याण मन्त्रालय छ तर उनका लागि छैन । वर्षेनि प्रस्ताव हाल्नुहुन्छ तर मन्त्रालयले अरु संस्थालाई दिन्छ उहाँलाई दिँदैन । किन होला त? उहाँको जवाफ छ, खै सरकारको मन्त्रीको चाकडी गर्न सकिन होला, या कर्मचारीलाई कमिसन दिनुपर्नेमा त्यो मैले अफर गर्न सकिन होला ।
यस्तोमा कटक्क मन त खान्छ कि सरकारको सहयोग कस्का र कस्ताका लागि हो ? सिंहदरबार सरकारसँग हात थाप्न पुग्दा खिन्न भएको उनको मन घर पुग्दा भने खुसी हुन्छ । आफ्नै घरलाई बारबेर गरेर बनाइएको तुलसालय आश्रममा आमा कतिबेला घर आउँछिन र खानेकुरा के ल्याइदिन्छिन भनेर कुरिरहेका केटाकेटी आमा भन्दै ढोकासम्म झुम्मिन आउँछन् । त्यही भिडमा स्तुति खोज्छिन सरू । २ वर्षअघि हुम्लाबाट १९ दिनकी स्तुतिलाई आफैँ पुगेर ल्याएकि थिइन् र उनले आफैँसँग हुर्काइरेकि छिन् । घर पुग्दा सानासाना २२ छोराछोरी आमाको काखमा बस्न एकै पटक तँछाडमछाड गर्छन् र कसैले कता त कसैले कता सुमसुमाउँछन् न मायाँ गर्छन् । त्यतिबेला दिनभरको सरूको थकान मेटिन्छ ।


