काठमाडौं, इन्डोनेसियाली नौसेनाले चीनबाट बंगलादेशतर्फ गइरहेको एउटा जहाजलाई नियन्त्रणमा लिएको छ। बंगलादेशी पत्रिका ‘द बिजनेस स्ट्यान्डर्ड’को एक रिपोर्ट अनुसार उक्त जहाजलाई नोभेम्बर ७ मा नियन्त्रणमा लिइएको हो। सो जहाजमा ४०५ टन ‘सोडियम पर्क्लोरेट’ फेला परेको छ। इन्डोनेसियाली नौसेनाका एक अधिकारीका अनुसार नियन्त्रणमा लिइएको उक्त रसायन प्रयोग गरेर करिब १०० वटा क्षेप्यास्त्र (मिसाइल) बनाउन सकिन्छ। जहाजमा दर्ता नगरिएका, फाेर ४जी सिम कार्डहरू पनि लाखौँको संख्यामा फेला परेका छन्। बंगलादेशमा कसले यो खेप मगाएको थियो भन्नेबारे जानकारी अझैसम्म खुलेको छैन।
अफ्रिकी राष्ट्र कोमोरोसको झन्डा बोकेको ‘एमभी स्टार लाइन’ नामक मालवाहक जहाज चीनबाट बंगलादेशतर्फ जाँदै थियो। अनुसन्धानबाट उक्त जहाजको दर्ता पहिले नै निलम्बन भइसकेको कुरा खुल्यो। साथै, यसका ढुवानीसम्बन्धी कागजातहरूमा पनि अनियमितता भएको आशंका गरिएको थियो। नोभेम्बर ७ मा उक्त जहाज इन्डोनेसियाको उत्तरी सुमात्रास्थित बेलावान बन्दरगाह नजिक आइपुग्यो। इन्डोनेसियाली नौसेनाका अनुसार यात्राका क्रममा इन्धन भर्नका लागि जहाजले आफ्नो बाटो परिवर्तन गरेको थियो।
यस क्रममा नौसेनाको गस्ती जहाज ‘केआरआई सिगालु-८५७’ ले उक्त जहाजका गतिविधिहरू शंकास्पद रहेको पायो। नौसेनाले रेडियो सन्देशमार्फत उक्त जहाजलाई रोकिन आदेश दियो, तर कुनै प्रतिक्रिया प्राप्त भएन। त्यसपछि नौसेनाले उक्त जहाजलाई नियन्त्रणमा लियो र जाँचबुझ सुरु गर्यो। इन्डोनेसियाली अधिकारीहरूले जहाजका चालक दलका सदस्यहरू, मालसामानको विवरण (कार्गो म्यानिफेस्ट) र सम्बन्धित कागजातहरूको जाँच गरिरहेका छन्। यद्यपि, उक्त जहाज कुन कम्पनीको स्वामित्वमा थियो, रसायनहरू कसका थिए वा बंगलादेशमा ती कसलाई हस्तान्तरण गर्ने उद्देश्य थियो भन्ने कुरा अझै यकिन हुन सकेको छैन।
भन्सार अधिकारीहरूका अनुसार ओसारपसार भइरहेका मालसामान र त्यसलाई आयात गर्ने कम्पनीसम्बन्धी विवरण ‘इम्पोर्ट जनरल म्यानिफेस्ट’ (IGM) मा अभिलेख गरिएको हुन्छ।बंगलादेश पुग्नु अघि नै इन्डोनेसियामा उक्त जहाजलाई रोकियो। अधिकारीहरूले अहिले यी कागजात र अन्य अभिलेखहरूको प्रयोग गरेर कसले ती रसायनहरू मगाएको थियो र बंगलादेशमा कसले ती सामान बुझ्नुपर्ने थियो भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका छन्।‘सोडियम पर्क्लोरेट’ नामक रसायन साना सेता दाना वा धूलोको रूपमा पाइन्छ। यसले आगोलाई तीव्र गतिमा फैलिन मद्दत गर्छ। औद्योगिक प्रयोगका अतिरिक्त यसलाई रकेट तथा क्षेप्यास्त्र (मिसाइल) को इन्धन, विस्फोटक पदार्थ र आतिशबाजी (पटाका) बनाउन प्रयोग गरिन्छ।
यद्यपि यो आफैँमा विस्फोटक वा इन्धन होइन, तर यसले दहन प्रक्रियालाई तीव्र बनाउन सक्छ। यसलाई ठूलो परिमाणमा भण्डारण गर्दा विशेष सुरक्षा उपायहरू अपनाउन आवश्यक हुन्छ।


