काठमाडौं, जेनजी आन्दोलनपछि बढेका लुटपाट र चोरीका घटनालाई रोक्न ठमेल क्षेत्रका स्थानीयबासी र प्रहरीले रात्रि गस्ती सुरु गरेका छन् । ठमेल पर्यटन विकास परिषदको नेतृत्वमा सञ्चालित यो पहलले ठमेललाई सुरक्षित बनाउने उद्देश्य राखेको छ ।
पहिलो दिनमा नियन्त्रणमा १५ जना
ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष सहदेव धमला (विमल)का अनुसार शनिबार एकै दिनमा शंकास्पद १५ जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ । धमलाले भने,
“नेपालको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सुरक्षित राख्न सोह्रखुट्टे र दरबारमार्ग प्रहरी तथा स्थानीयबासीको संलग्नतामा रात्रिगस्ती सुरु गरेका हौं ।”
गस्तीको अवधि र उद्देश्य
यो रात्रि गस्ती कार्यक्रम करिब एक महिनासम्म सञ्चालन हुने जनाएको छ । यसको मुख्य उद्देश्य ठमेलमा चोरी, लुटपाट र अन्य असुरक्षा घटनालाई न्यून बनाउनु रहेको छ ।
जेनजी आन्दोलन र पर्यटकमा प्रभाव
भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शन हिंसात्मक बनेको थियो । विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाटका घटनाले विदेशी पर्यटकमा नकारात्मक सन्देश गएको ठमेल क्षेत्रका व्यापारी तथा व्यवसायीहरूको चिन्ता छ ।


