Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं, नेपाल एयरहोस्टेस एकेडेमीमा एयरहोस्टेस तालिम लिइरहेका युवतीहरूलाई व्यावहारिक सीपअन्तर्गत पौडी प्रशिक्षण प्रदान गरिएको छ । काठमाडौंको कालोपुलस्थित बज्र स्पोर्ट्सको पौडी पोखरीमा प्रशिक्षक राज तिमिल्सिनाले प्रशिक्षार्थीहरूलाई पौडीसम्बन्धी प्रशिक्षण दिइरहेका छन् ।


विमान परिचारिकाका लागि पौडीसम्बन्धी ज्ञान तथा सीप आवश्यक हुने भएकाले पाँचमहिने एयरहोस्टेस तालिममा पौडी प्रशिक्षणलाई पनि समावेश गरिएको एकेडेमीले जनाएको छ । आकस्मिक अवस्थामा यात्रुको उद्धार तथा आफ्नो सुरक्षाका लागि विमान परिचारिकाले पौडी खेल्न जान्नु आवश्यक मानिन्छ ।


नेपाल एयरहोस्टेस एकेडेमीमा हाल बिहान ७ देखि ९ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म दुई सिफ्टमा तालिम सञ्चालन भइरहेको छ । तालिममा सहभागी प्रशिक्षार्थीलाई कक्षाकोठामा सैद्धान्तिक ज्ञानसँगै विभिन्न व्यावहारिक तथा व्यावसायिक सीपसमेत प्रदान गरिँदै आएको छ ।

पाँचमहिने तालिम अवधिमा व्यक्तित्व विकास, हवाई सुरक्षा, विमानभित्र यात्रुलाई प्रदान गरिने सेवा तथा सत्कार, विमानसम्बन्धी विषयगत ज्ञान, मेकअप, हस्पिटालिटी, फुड एन्ड बेभरेज, अंग्रेजी भाषा, फायर फाइटिङ, फर्स्ट एड, ई–टिकेटिङ तथा ग्राउन्ड ह्यान्डलिङलगायतका विषयमा प्रशिक्षण दिइन्छ ।

एकेडेमीका अनुसार तालिममा अनुभवी तथा दक्ष प्रशिक्षकहरूबाट प्रशिक्षण प्रदान गरिँदै आएको छ । व्यावसायिक ज्ञानका साथै बोल्ने कला, आत्मविश्वास, व्यक्तित्व विकास र कार्यक्षमता अभिवृद्धिमा समेत तालिमले सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ ।

नेपाल एयरहोस्टेस एकेडेमीबाट तालिम प्राप्त गरेका प्रशिक्षार्थीहरू नेपालका विभिन्न वायुसेवा कम्पनीका साथै अन्तर्राष्ट्रिय विमान कम्पनीमा समेत रोजगारीमा आबद्ध हुँदै आएका छन् । एयरहोस्टेससम्बन्धी तालिमले युवायुवतीलाई विमान परिचारिकाका रूपमा करिअर निर्माण गर्न आवश्यक आधार तयार गर्ने एकेडेमीको भनाइ छ ।

एकेडेमीमा भर्नाका लागि एसईईपछिको कक्षा १२ वा सोसरहको शिक्षा जुनसुकै विषयमा उत्तीर्ण गरेको हुनुपर्ने तथा महिलाको उचाइ कम्तीमा ५ फिट २ इन्च र पुरुषको उचाइ कम्तीमा ५ फिट ७ इन्च हुनुपर्ने मापदण्ड रहेको जनाइएको छ ।

सैद्धान्तिक शिक्षासँगै पौडी, फायर फाइटिङ, फर्स्ट एड तथा अन्य व्यावहारिक प्रशिक्षणलाई समेत प्राथमिकता दिइएकाले एयरहोस्टेस तालिमलाई रोजगारीमुखी र सीपमूलक बनाउने प्रयास भइरहेको एकेडेमीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय