काठमाडौं, नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का आज अन्य नेताहरूसहित निर्वाचन आयोग पुगेका छन्। आयोगका पदाधिकारीसँगको छलफलमा खड्काले विशेष महाधिवेशन विधानअनुरूप नभएको दाबी गरेका छन्।
हालै भएको विशेष महाधिवेशनले गगन थापा सभापतित्वमा नयाँ कार्यसमिति चयन गरी आयोगमा अद्यावधिक गर्न निवेदन दिएको थियो। तर खड्काका अनुसार, गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले ५ वर्षका लागि साधारण सदस्य नरहने गरी कारबाही गरेको र आयोगमा जानकारी पठाइसकिएको छ।
खड्काले थपे कि क्रियाशील सदस्यता छानबिन समितिले केन्द्रीय समिति र सभापतिलाई सूची नबुझाएको कारण नियमित महाधिवेशन वैशाखमा सारिएको हो। उनी आफैं १४ औँ महाधिवेशनबाट निर्वाचित र आधिकारिक पार्टी रहेको दाबी गर्दै कार्यवाहक सभापतिका पदाधिकारी र नेताहरूको टोलीसहित आयोग पुगेका थिए।
आज आयोगमा कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरूङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेत लगायतका नेताहरू उपस्थित थिए।


