काठमाडौं, नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज सोमबार ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्दै छ। बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नेसगायत पार्टी सचिवालयबाट प्रस्तावित विभिन्न विषयहरूमा छलफल हुनेछ। यसअघि आइतबार बसेको पार्टीको १०औँ सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सहमति जनाउँदै आजको केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गरेको थियो।
सचिवालय बैठकले उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलद्वारा तयार पारिएको प्रतिवेदनलाई एकीकृत गरी अन्तिम रूप दिँदै अनुमोदनसमेत गरेको छ।
संयोजक थापाले पेस गरेको उक्त प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले अन्तिम परिमार्जन गरेका थिए। देशभरबाट प्राप्त सुझावहरूलाई अनुसूचीका रूपमा समावेश गरिएको उक्त प्रतिवेदनबाट ‘तत्काल पुनर्गठन’ भन्ने शब्द भने हटाइएको छ।



