Wednesday 23 September 2026 / बुधबार, ७ आश्विन २०८३

मुम्बई, चर्चित भारतीय अभिनेता पंकज त्रिपाठीले अबु धाबीको इतिहाद एरिनामा आयोजना हुने ‘आइफा डिजिटल अवार्ड्स २०२७’ मार्फत कार्यक्रम सञ्चालक अर्थात होस्टको रूपमा डेब्यु गर्ने भएका छन्।

‘आइफा विकेन्ड एन्ड अवार्ड्स’ को २७औँ संस्करणको औपचारिक काउन्टडाउन सुरु भइसकेको छ। यसअन्तर्गत सन् २०२७ को जनवरी २२ देखि २३ सम्म अबु धाबीको यास आइल्यान्डस्थित ‘इतिहाद एरिना’ मा भव्य उत्सव आयोजना गरिनेछ।आफ्नो विशिष्ट ‘स्क्रिन प्रेजेन्स’ र सहज आकर्षणका लागि परिचित त्रिपाठी ‘डिजिटल अवार्ड्स’ को मुख्य आकर्षण बन्नेछन्। यो कार्यक्रमले डिजिटल कथावाचनको विकसित परिवेश र मनोरञ्जनको नयाँ पुस्तालाई आकार दिने सिर्जनाकर्ता तथा कलाकारहरूलाई सम्मान गर्दछ। करियरको अधिकांश समय क्यामेरा अगाडि पात्रहरू मार्फत कथा भन्दै बिताएका त्रिपाठीका लागि होस्टिङतर्फको यो पाइला नयाँ चुनौती र उचाइ दुवै मानिएको छ।

अवार्ड शो सञ्चालन गर्ने मेरो यो पहिलो अनुभव हो : पंकज त्रिपाठी

यो नयाँ भूमिकाबारे उत्साह व्यक्त गर्दै पंकज त्रिपाठीले भने, “एक अभिनेताका लागि केही यस्ता क्षणहरू हुन्छन्, जसमा घबराहट र उत्साह दुवै मिसिएको हुन्छ; र पहिलो पटक आइफा डिजिटल अवार्ड्सको सञ्चालन गर्नु पक्कै पनि तिनै क्षणहरूमध्ये एक हो। मैले मेरो यात्राको धेरैजसो समय क्यामेराको अगाडि उभिएर बिताएको छु, त्यसैले बिल्कुलै फरक भूमिकामा ‘आइफाको मञ्चमा उक्लिनु रोमाञ्चक र विनम्रता महसुस गराउने अनुभव हो।”

उनले थपे, “डिजिटल संसारले कथाहरू सिर्जना गर्ने र मन पराउने तरिका नै परिवर्तन गरिदिएको छ। ‘आइफाले कथावाचनको यो नयाँ पुस्तालाई मान्यता दिनु निकै अर्थपूर्ण छ। म पनि ‘आइफा डिजिटल अवार्ड्सको मञ्चमा आत्मीयता र अलिकति हास्य-व्यंग्य लिएर आउन आतुर छु।”

त्रिपाठी होस्टका रूपमा जोडिएसँगै दुई दिनसम्म चल्ने यो उत्सवले परम्परागत अवार्डहरूको भव्यतालाई डिजिटल सामग्रीको बढ्दो प्रभावसँग जोड्ने अपेक्षा गरिएको छ। अबु धाबीको मञ्चमा अभिनेता त्रिपाठीले आफ्नो पर्दाको व्यक्तित्वलाई प्रत्यक्ष सञ्चालनमा कसरी उतार्नेछन् भन्नेमा दर्शकहरूको विशेष चासो रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय