काठमाडौँ, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘अक्षरा’ को नयाँ प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म २३ असोजदेखि प्रदर्शनमा आउने भएको छ ।
निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । यसअघि फिल्म २६ भदौ र २४ मंसिर मा प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, प्रदर्शन मिति परिवर्तन गर्दै अहिले २३ असोज तय गरिएको हो ।
विनयराज पौडेल निर्देशित फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ ।अभिभावकले छोरीको इच्छाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन् । साथै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।
सोनी थापा प्रस्तुतकर्ता रहेको फिल्मको कथा निर्माता उग्रसेन ढुङ्गाना स्वयंले लेखेका हुन् । पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन् ।


