Sunday 22 November 2026 / सोमबार, ८ मंसिर २०८३

काठमाडौँ, नेपाली कांग्रेस जनसम्पर्क समिति क्यानडाको सभापतिमा टोष्टराज (वसन्त) कार्की निर्वाचित हुनुभएको छ ।

क्यानडाको टोरन्टोमा शनिबार सम्पन्न समितिको अधिवेशनले कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनमा क्यानडामा रहेका नेता तथा कार्यकर्ताको प्रत्यक्ष सहभागिता रहेको थियो भने नेपाललगायत अन्य मुलुकबाट भर्चुअल माध्यममार्फत सहभागिता जनाइएको थियो ।

यसअघि नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कार्कीलाई जनसम्पर्क समिति क्यानडाको संयोजकको जिम्मेवारी दिएको थियो । उहाँ यसअघि समितिको महामन्त्री हुनुहुन्थ्यो । महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशाङ्क कोइरालाले कात्तिक २६ गतेको निर्णयअनुसार कार्कीलाई संयोजक तोक्नुभएको थियो ।

अधिवेशनले वरिष्ठ महामन्त्रीमा दुई, उपसभापतिमा चार, महामन्त्रीमा दुई, सहमहामन्त्रीमा छ र कोषाध्यक्षमा एक जना चयन गरेको छ । यससँगै सभापतिसहित १५ सदस्यीय कार्यसमिति गठन भएको हो । समितिका अन्य सदस्य पछि मनोनयन गरिने सभापति कार्कीले जानकारी दिनुभयो ।

क्यानडाबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि तीन जना महासमिति सदस्य र छ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । समितिका सभापति पदेन प्रतिनिधि रहने व्यवस्था छ ।

यसअघि कात्तिक १२ गते वीरेन्द्र राउतलाई समितिको संयोजकको जिम्मेवारी दिइएको थियो । क्यानडास्थित जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताले कात्तिक १७ गते लिखित अनुरोध गरेपछि कार्कीलाई नयाँ संयोजकको जिम्मेवारी दिइएको थियो ।

नेपाली कांग्रेसको राष्ट्रिय भेलाको निर्देशनअनुसार विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन कात्तिक ३० गतेभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको थियो । पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा हुँदैछ ।

सभापतिमा निर्वाचित कार्कीको परिवार लामो समयदेखि नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै आएको बताइएको छ । परिवारका सदस्यहरू पार्टीको संगठन निर्माण, राजनीतिक अभियान तथा विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

कास्की कांग्रेसका सभापति ऋषि काफ्लेका अनुसार नेपालस्थित कार्की परिवारको घर कांग्रेसका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि तथा अग्रज कार्यकर्ताको भेटघाट र संगठनात्मक छलफलको केन्द्रका रूपमा परिचित छ । उहाँका अनुसार कार्की परिवारका करिब ८० देखि १०० भन्दा बढी सदस्य नेपाली कांग्रेसप्रति आस्थावान् तथा क्रियाशील छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय