बर्लिन । लामो समयदेखि जर्मनीमा बस्दै आएकी निनाम्मा राईले गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेकी छिन । राईले संघको आगामी कार्यकालका लागि आफ्नो उम्मेद्वारी घोषणा गरेकी हुन । एनआरएनए जर्मनीको इतिहासमा महिलाले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेको यो पहिलो हो ।
विभिन्न सामाजिक काममा सक्रिय राई संघको एलसिसी सदस्यबाट संघमा प्रवेश गरेकी हुन । ‘एनआरएनए जर्मनीको एलसिसि सदस्य २००९–२०११ बाट जर्मनीमा रहेर काम गरें ।’ उनले भनिन्, ‘प्रवासमा रहने नेपालीहरुको हितमा रहेर काम गरे, जसले मलाई आज अध्यक्षको उम्मेद्वारी घोषणा गर्ने ठाउँसम्म ल्याउन सहयोग गरेको छ ।’

यतिमात्रै होइन राईसँग एनआरएनए जर्मनीको एलसिसीमा २०११–२०१३ मा महिला सह संयोजक, २०१३–२०१५ मा महिला संयोजक, २०१५–२०१७ मा कोषाध्यक्ष, २०१७–२०१९ मा पुनः कोषाध्यक्षमा काम गर्दै २०१९–२०२१ मा उपाध्यक्षको रुपमा रहेर काम गरेको अनुभव छ । ‘अध्यक्षका लागि मेरो उम्मेद्वारी स्वभाविक छ ।’ उनले भनिन्, ‘हरेक क्षेत्र र विधामा रहेर काम गरिसकेको छु, त्यसैले अध्यक्ष भएर बाँकी रहेका काम गर्ने योजना बनाएको छु ।’
विशेषगरी महिला अधिकार, लैङ्गीक समानता तथा महिला सशक्तिकरणका क्षेत्रमा रहेर काम गरेकी राईले सबैको साथ र सहयोग आवश्यक रहने बताएकी छिन । उनले आफ्नो उम्मेद्वारी घोषणासँगै कार्ययोजनाहरु समेत सार्वजनिक गरेकी छिन । उनले आफ्नो कार्यकालमा आकस्मिक सेवा कोषको स्थापना गर्नेदेखि जर्मनी निवासी नेपालीहरुको सुख दुःखमा साथ दिनेसम्मका कार्ययोजना अघि सारेकी छिन् ।
युरोपका बिभिन्न क्षेत्रिय सम्मेलन तथा बैठकदेखि नेपालमा हुने माहाधिबेशनमा पटक–पटक सहभागिता जनाउँदै नेपाल र नेपालीको हितमा काम गरेकोले सबैको माया पाउने दावी गरेकी छिन । ‘जर्मनीभरी छरिएर रहेका सम्पुर्ण नेपालीहरुको हकहित, सुरक्षा तथा सवलिकरणका लागि काम गर्नेछु ।’ उनले भनिन्, ‘सबैले आफ्नै महशुस गर्न सक्ने संगठनको निर्माण तथा सुदृढिकरणका लागि सबैको साथ र सहयोग आवश्यक पर्छ ।’ उनले आफुलाई बहुमत दिएर विजयी गराइदिन समेत मतदाताहरुसँग आग्रह गरेकी छिन ।

उनले संघको नेतृत्व पाएमा संघभित्र आकस्मिक सेवा कोषको स्थापना गर्ने, जर्मनीमा रहेका महिला विद्यार्थी तथा पेशाकर्मीका लागि काम गर्ने, नेपाली कला संस्कृति तथा प्राकृतिक सुन्दरताको प्रचार प्रसार गर्ने, नेपाली भाषा कक्षा संचालन गर्ने, मातृभूमि परोपकार अभियान संचालन गर्ने, नेपाल सेन्टर स्थापनाको पहल गर्ने, समयमै सदस्यता वितरण तथा नविकरण गर्ने, जर्मनी निवासी नेपालीहरुको सुख दुःखमा साथ दिने जस्ता आकर्षक कार्ययोजना अघि सारेकी छिन । संघको निर्बाचन जुलाई ३१ मा हुँदैछ ।


