Monday 28 September 2026 / मंगलवार, १३ आश्विन २०८३

धान, अब यी सब गर्न सक्दिनँ
धान,
अब यी सब गर्न सक्दिनँ।
तँलाई सम्याएर रोप्नुपर्ने,
तँलाई न्यानो माटो खोजिदिनुपर्ने,
आज अलिकति, भोलि अलिकति भन्दै रोप्न नहुने,
समयमै पानी लगाइदिनुपर्ने,
एकनासले रोप्नुपर्ने,
ढिस्को र भिरालो ठाउँमा नरोप्नुपर्ने।
त्यति मात्र कहाँ हो र
असार १५ मा
तेरो नाममा हिलो खेल्नुपर्ने,
उत्सव र महोत्सव मनाइदिनुपर्ने,
तँलाई रोप्नुअघि
गोरुले खेत जोत्नुपर्ने।
सायद,
तँ अन्नहरूको राजा भएकैले
यति धेरै सम्मान र स्याहार पाएको होला।
तर अब म यी सब गर्न सक्दिनँ।
किनकि
यी सब गर्ने हातहरू
आज गाउँमा छैनन्।
ती हातहरू
अरबका मरुभूमिमा बेल्चा चलाइरहेका छन्,
कतै ओमान, कतै कुवेत,
कतै इजरायलमा पसिना बेचिरहेका छन्।
आफ्नो खेतको हिलो छोडेर
अरूको देशमा श्रम बेच्न बाध्य भएका छन्।
गाउँका खेतहरू सुनसान छन्,
रोपाइँका गीतहरू मौन छन्,
हिलोमा रमाउने पाइला हराएका छन्।
त्यसैले, धान,
तँलाई दोष दिएको होइन,
समयलाई गुनासो गरेको हुँ।
धान,
अब यी सब गर्न सक्दिनँ।

– लेखबहादुर श्रेष्ठ ‘सागर’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय