रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको पक्राउको विरोध गर्दै प्रदर्शनमा उत्रेका हजारौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रसियाका विभिन्न शहरमा भएको प्रदर्शनमा उत्रिएका करिब ३ हजार प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन भएको जनाइएको छ । गएको आइतवार उपचारपछि जर्मनीबाट स्वदेश फर्केका ४४ वर्षिय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी पक्राउ परेपछि समर्थकहरूले सामाजिक सञ्जालमार्फत प्रदर्शनको आह्वान गरेका थिए । नाभाल्नी राष्ट्रपति पुटिनका कट्टर कडा आलोचक मानिन्छन् ।


