काठमाडौं, गीतकार हरिगोपाल प्रधानले हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
उहाँले फेब्रुअरी १, २०२१ मा काठमाडौँ देखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजभित्र ३६हजार फिट उचाइमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरमार्फत ‘मुटुमा सधैँभरी’ साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गर्नुभएको हो ।

उक्त साङ्गीतिक एल्बममा राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार प्रदीपराज वन्त र कृजना डङ्गोलको मोडलिङ तथा आरद्या लक्ष्मी खड्गीले निर्देशन गरेका छन् । उक्त कार्यक्रममा म्यूजीक भिडियोमा अभिनय गर्ने नायक नायिका निर्देशक तथा क्यामरा पर्सन लगायत निर्माणमा महत्वपूर्ण भुमिका खेल्नेहरुलाई उपराष्ट्रपति वाट सम्मान गरिएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले वरिष्ठ गीतकार प्रधानलाई आज वल्र्ड बुक अफ रेकर्डस् नेपालको तर्फबाट सम्मान गर्नुभएको छ ।
कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व कीर्तिमानले नेपाली र नेपालको शिर ठाडो बनाएको बताउनुभयो । “संसारमा कसैले नगरेको काम गरेर नयाँ रेकर्ड बनाउने काम आफैँमा गाह्रो काम हो, तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ,” उहाँले भन्नुभयो ।

शहरी विकास राज्यमन्त्री मानन्धरले साङ्गीतिक क्षेत्रको नमूना देश नेपाल भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको बताउनुभयो । नेपालीहरुले धेरै क्षेत्रमा वल्र्ड रेकर्ड बनाइसकेको उहाँको भनाइ थियो । साथै राज्यमन्त्रीलाई पनि उपराष्ट्रपतिको हातवाट विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण साथै सम्मान पनि गरिएको थियो ।

गीतकार प्रधानले सबैको साथ, सहयोगका कारण आफूले विश्व रेकर्ड बनाउन सफल भएको बताउनुभयो । सोही अवसरमा वल्र्ड रेकर्ड बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।








