Saturday 17 October 2026 / शनिबार, १ कार्तिक २०८३

डोटी,
डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेस्थित सामुदायिक वनमा बुधबार एकाएक डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा दिपायल सिलगढीको दमकलर कर्मचारीको सक्रियतामा डढेलो निभाउन सकिएको डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिनुभयो ।

यहाँका जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन सखाफ हुँदै गएको जोरायल गाउँपालिका–१ का स्थानीयवासी मोहन मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी नपर्दा सुक्खा यामले जङ्गलमा आगलागी भएको छ, निभाउन सकिएको छैन, सयौँ हेक्टर जमिन तथा नयाँ उम्रिएका बिरुवा र बहुमूल्य जडीबुटी सबै जलेर खरानी भएको छ ।” यहाँका स्थानीय तहमा जङ्गल क्षेत्रका दर्जनौंँ सामुदायिक वनमा डढेलो दिनहुँ बढ्दै गएको छ । डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयवासीको आरोप छ ।

जिल्लामा ३५० भन्दा बढी सामुदायिक वन रहेका छन् । यहाँका सामुदायिक वन प्रायः गाउँ घरसँग जोडिएकाले ती वनमा फैलिएको आगो गाउँमा आए गाउँ नै सखाप हुने भन्दै स्थानीयवासीमा चिन्ता थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय