धादिङ– एम्बुलेन्स अंकलका रुपमा परिचित धादिङबेसी बिचबजारका नारायण कुमार श्रेष्ठले ५३औँ पटक रक्तदान गरिसक्नु भएको छ ।
धादिङ जिल्लाभित्र होस् या आसपासका जिल्लाहरु, जहाँ जुन ठाउँमा दुर्घटना भयो आपत्विपत् भयो भन्ने खबर सुनिन्छ हो त्यहि ठाउँ पुगेकै हुन्छन् एम्बुलेन्स अंकल उर्फ नारायण कुमार श्रेष्ठ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङमा पनि सक्रिय उहाँ निलकण्ठ नगरपालिका–३ धादिङवेशीं बिचबजारका स्थानीय हुनुहुन्छ ।
नेपाल रेडक्रश सोसाइटीका स्वयंसेवकद्वय श्रेष्ठ एम्बुलेन्स अंकल, धादिङमा रहेर सामाजिक सेवामा निरन्तर काम गरिरहेका छन् ।
धादिङबेसी बिचबजारका ४३ वर्षीय श्रेष्ठको खास नाम सबैले बिर्सन थालेका छन् । बजारका बालबालिकाले एम्बुलेन्स अंकल भनेर बोलाउँछन् । जिल्लाभर उनी एम्बुलेन्स नारायण भनेर परिचित छन् । उनी कुनै दुर्घटनाको सूचना पाउनासाथ एम्बुलेन्सझैं दौडिन्छन् । कुनै व्यक्ति रूखबाट लडोस् या सवारी दुर्घटना होस् । आगलागी या बाढी पहिरो घटनामा उनैलाई फोन आउँछ । जस्तो अवस्थामा भएपनि उनी बिरामी बोक्ने स्टेचर लिएर दौडिन्छन् ।

चार दशक पार गरिसकेका श्रेष्ठ आफ्नो आधा जीवन स्वयम्सेवामै बिताएको बताउनुहुन्छ । ‘आफ्नो बाँकी जीवन पनि स्वयम्सेवक क्षेत्रमा नै बिताउने छु’ श्रेष्ठले भन्नुभयो । २०७२ सालको महाभूकम्प होस् या सवारी दुर्घटना, हरेक आपत्विपतमा घाइते भएकाहरुको उद्धार तथा प्राथमिक उपचारमा उनी नै पुगिरहेका हुन्छन् । यहि सामाजिक कार्यको उच्च प्रशंसा गर्दै युएनले २०७२ बैशाख १२ गतेको भूकम्पमा घाइते भएकाहरुको उद्धार तथा प्राथमिक उपचारका कार्यमा महत्वपूर्ण योगदान गरेको भन्दै अन्र्तराष्ट्रिय स्वयम्सेवक अवार्ड प्रदान गरेको थियो ।
पृथ्वी हाइवे तथा धादिङ आसपासका क्षेत्रमा रगतको अभाव हुन नदिई आम रक्तदातालाई रक्तदान गर्न उत्प्रेरणा जगाउँदै स्वयंसेवकको रुपमा दैवी प्रकोप तथा दुर्घटनामा स्थलगत उद्धार कार्यमा अनवरतरुपमा खटिँदै आउनु भएका श्रेष्ठले तीन–तीन महिनामा रगतको आवश्यक परेका बिरामीलाई दिउँसो राति केही नभनी रगत दिँदै आउनुभएको छ ।
हरेक दुर्घटना तथा घटना स्थलमा एम्बुलेन्सभन्दा छिटो पुग्ने भएकाले श्रेष्ठ एम्बुलेन्स अंकलका रुपमा परिचित हुनुहुन्छ । नेपाल रेडक्रस सोसाइटी धादिङ शाखामा आबद्ध श्रेष्ठ हरेक दुर्घटनामा पुग्ने र उद्दार तथा प्राथमिक उपचारका साथै परामर्श दिने गर्नुहुन्छ ।
नेपाल सरकार तथा रेडक्रस, स्काउटलगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था र व्यक्तिहरु स्वयंसेवा मार्फत सामाजिक कार्यमा सक्रिय छन् । यसका साथै संयुक्त राष्ट्रसंघीय स्वयंसेवक कार्यक्रमले पनि नेपालमा स्वयंसेवाको प्रवद्र्धन तथा सामाजिक विकासका लागि काम गरिरहेको छ । राष्ट्रसंघका विभिन्न संस्थानहरुले नेपाल च्याप्टरसमेत स्थापना गरी सामाजिक गतिविधिमा सक्रिय छ ।


