काठमाडौँ- बाबु राजेन्द्र विष्ट र आमा रामुको कोखबाट २०४७ भदौ १९ गते जन्मिएकी रोजिना विष्टको बाल्यकाल काठमाडौँ गोकर्णेश्वरस्थित सुन्ताखानमै बित्यो । उनका बुबाआमा पेशाले दुवै शिक्षक हुन् ।
उनले आमा कार्यरत श्री देवी बाल सुधार माध्यामिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरिन् । पत्रकारितासँगै सोसल वर्कमा स्नातक (BSW) गरेपछि औपचारिक शिक्षालाई बिराम लगाइन् । त्यसपछि उनी सामाजिक कामका लागि अग्रसर भइन् ।
उनको एउटा संस्था छ- सुनौलो पाइला । २०७५ सालमा उक्त संस्था दर्ता हुनुको छुट्टै कारण पनि छ । उनी जन्मदिन, एनिभर्सरीलगायतका अवसरहरूमा विभिन्न बालगृहहरूमा सेवा गर्थिइन् । उक्त काम गर्दागर्दै सिन्धुपाल्चोकको मेलम्चीबाट दुई बालबालिकाको उद्धार गर्ने क्रममा उक्त संस्था जन्मिएको हो । भूकम्पपछि कोहि नभएका बालबालिकालाई संस्थाले संरक्षण गर्ने योजना अनुसार संस्था खुलेको रोजिना बताउँछिन् ।

सुनौलो पाइलामा संरक्षणमा रहेका बालबालिकाहरुलाई उचित आवास, खाना, शिक्षा, स्वास्थ्यको साथै नृत्य, संगीत , कराँते आदि अतिरिक्त क्रियाकलापहरूमा सहभागी गराउँदै आएको छ । पढाइमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका सुनौलो पाइलाका बालबालिकाहरूले अतिरिक्त क्रियाकलापहरूमा पनि राम्रो नतिजा ल्याएर धेरै मेडलहरू भित्र्याउन सफल भएका छन् । यसैलाई सुनौलो पाइलाले सबै भन्दा ठूलो उपलब्धि मानेको रोजिना बताउँछिन् ।
वि.सं २०७७ साल बैशाख ३ गते कोरोनाको महामारीका कारण लकडाउनमा १५ वर्षीया गर्भवतीको उद्धार गरेको थियो । अस्पताल लगेर विभिन्न सकसका बाबजुद उनले जन्म दिएकी छोरीलाई पनि सुनौलो पाइलाले करिब ७ महिना संरक्षण गरेर उनको धादिङस्थित परिवार पत्ता लगाएर पारिवारिक पुन:र्मिलन गराएको थियो । हालसम्म सुनौलो पाइलाले विभिन्न स्थानका सुनौलो पाइलाको संरक्षणमा रहेका ८ जना बालबालिकाहरूको पुन:र्मिलन गराएको छ ।


