Tuesday 18 August 2026 / बुधबार, ३ भाद्र २०८३

बुटवल, रूपन्देहीको तिलोत्तमा नगरपालिकाले वैशाख २० गतेभित्रै चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सक्न विद्यालयलाई आग्रह गरेको छ ।

कोरोना महामारीको दोस्रो लहर बढिरहेका बेला विद्यार्थीमा कोरोनाको प्रभाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरक्षेत्रका सबै विद्यालयको वार्षिक परीक्षा छिट्टै गर्ने नगरपालिकाले निर्णय गरेको हो ।

शुक्रबार बसेको नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको बैठकले नेपालमा दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा फैलिईरहेको र विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएकोले विद्यालयस्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो ।

शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले परीक्षा नलिँदै विद्यालय बन्द गरिँदा त्यसले विद्यार्थी, शिक्षक, अभिभावक सबैमा नकारात्मक प्रभाव पर्ने भएकोले कोरोना सुरक्षा मापदण्ड अपनाई तत्काल परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

नगर प्रमुख तथा समिति संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा यही वैशाख १२ गतेसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ ।

त्यस्तै वैशाख १२ बाट सुरू हुनेगरी कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालनको लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र समेत निर्धारण गरेको आचार्यले बताए।

यसैबीच कोरोनाबाट सबैभन्दा बढी बालबालिका प्रभावित भैरहेको भन्ने खबरहरु सार्वजनिक भैरहँदा नगरप्रमुख बासुदेव घिमिरे, शिक्षा शाखा प्रमुख गंगाराम आचार्यसहितको टोलीले विद्यालयहरुको अनुगमनसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय