Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

तीर्थराज वन्त, नेपाल रेडक्रसका पूर्वप्रमुख कार्यकारी निर्देशक, एक समर्पित समाजसेवी र साहित्यकार हुनुहुन्छ । उहाँको जन्म १९९६ साल असारमा काठमाडौँको ठमेलमा भएको हो । बाल्यकालका केही समय गोरखाको बगुवामा बिताउनु भए पनि पछि काठमाडौँस्थित ठमेलमा परिवारका साथमा बस्नुभयो । हाल भने ललितपुरको बखुन्डोलमा सपरिवार बस्दै आउनुभएको छ ।

उहाँको शैक्षिकयात्रा काठमाडौँको शान्ति निकुञ्ज स्कुलबाट सुरु भएको हो । उहाँले २०१० सालमा शान्ति निकुञ्जबाटै एसएलसी उत्तीर्ण गर्नुभयो । त्यसपछि उहाँले अमृत साइन्स कलेजमा आइएसीमा अध्ययन गर्नुभयो । आइएसीमा फेल भएपछि उहाँले पुनः आइएमा इकोनोमिक्स, पोलिटिकल साइन्स, नेपालीजस्ता विषयमा अध्ययन गर्न थाल्नुभयो । नियमित रूपमा एमए पूरा गर्नुभयो भने २०६६ सालमा ल क्याम्पसबाट कानुनमा एलएलबी हासिल गर्नुभयो ।
तीर्थराज वन्तको नेपाल रेडक्रस सोसाइटीसँगको यात्रा २० वर्षको उमेरमै सुरु भयो । प्रारम्भमा उहाँ फण्ड रेजिङ अफिसरका रूपमा काम गर्न थाल्नुभयो । त्यो सँगसँगै क्याम्पसमा पनि पढाउँदै आउनुभएको थियो । बीचमा केही समय सरकारी जागिर खानुभयो । पछि २०२९ सालमा नेपाल सरकारको सेवा छाडेर नेपाल रेडक्रससँग जोडिएर काम गर्नुभयो । नेपाल रेडक्रसका विभिन्न महत्त्वपूर्ण पदमा काम गर्दै उहाँले नेपाल रेडक्रसको तिब्बतीयन रिफ्युजी सेटलमेन्ट अफिसरका रूपमा पोखरा, रसुवा, सोलुखुम्बु र मुस्ताङमा शरणार्थीहरूको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान गर्नुभएकोे छ । नेपालका विभिन्न जिल्लामा रेडक्रस शाखाको स्थापना र विकासमा उहाँको महत्वपूर्ण भूमिका पनि रहेको छ ।

नेपाल रेडक्रसमा विभिन्न पद र क्षेत्रमा काम गर्नुभएका वन्त अन्त्यमा चिफ एक्जुकेटिभ डाइरेक्टरका रूपमा २५ वर्षसम्म कार्यरत रहनुभयो । ३८ वर्षको दीर्घकालीन समर्पण र कार्य क्षेत्रमा वन्तले नेपालको रेडक्रस संस्थालाई विश्वस्तरीय बनाउनमा महत्त्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँको मानवसेवा र योगदान अतुलनीय छ । आज पनि अन्तर्राष्ट्रिय रेडक्रसको सदस्यका रूपमा उहाँले योगदान जारी राख्दै आइरहनुभएको छ ।


तीर्थराज वन्तको जीवन र कार्य नेपाली समाजका लागि एउटा प्रेरणा हो । उहाँको योगदानले नेपाल रेडक्रसको प्रतिष्ठानलाई अझ बलियो बनाएको छ । नेपालमा नै मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत उहाँले पु¥याउनुभएको योगदान सदा स्मरणीय रहनेछ । अन्तर्राष्ट्रिय रेडक्रसको सदस्यका रूपमा म्यानमारमा एक वर्ष कार्यालय नै स्थापना गरी योगदान दिनुभएको थियो । माओवादी जनयुद्धको समयमा पनि उहाँले अन्तर्राष्ट्रिय रेडक्रससँग मिलेर मानवअधिकार र मानवीय सहयोगका लागि कार्य गर्नुभयो ।

तीर्थराज वन्तको साहित्यिक रुचि पनि प्रशंसनीय छ । उहाँ आफैँले लेखेको र अनुवाद गरेको गरी हालसम्म ३२ वटा पुस्तक प्रकाशन भइसकेको छ । थुप्रै पुस्तकहरूको अनुवाद पनि गर्नुभएको छ । उहाँको लेखनका विशेषता भनेको मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनलाई रेडक्रसको कार्यमा कसरी प्रयोग गर्ने भन्ने विषयमा निरन्तर विभिन्न पत्रपत्रिकामा लेख प्रकाशनका साथै रेडक्रससँग सम्बन्धित पुस्तक पनि लेख्नुभयो । जेनेभा कन्भेन्सको अङ्ग्रेजी पुस्तकलाई समेत नेपालीमा अनुवाद गरेर प्रकाशन पनि उहाँले गर्नुभएको छ ।

साहित्यप्रति तीर्थराज वन्तको रुचि स्कुल पढ्दाकै दिनबाट सुरु भएको हो । उहाँ पुस्तकालयमा घुम्ने र किताब पढ्न निकै मन पराउनुहुन्थ्यो । उहाँका बुबा पनि पुस्तकप्रेमी नै हुनुहुन्थ्यो भने उहाँ स्वयं पुस्तक पढेर ज्ञान हासिल गर्ने बुबाको अध्ययन र पुस्तक लेखनका माध्यमबाट तीर्थराज वन्तलाई पनि प्रेरणा मिल्यो । ललितपुरस्थित घरमा आफ्नै पुस्तकालय रहेको छ, जहाँ उहाँ पुस्तकहरूको सङ्ग्रह गर्दै आउनुभएको छ । तीर्थराज वन्तको साहित्यिक योगदान मात्र नभएर उहाँ समाजसेवामा पनि निकै सक्रिय हुनुहुन्छ । पूर्वमन्त्री नारायण खड्काको अध्यक्षतामा भृकुटीमण्डपमा उपत्यका सार्वजनिक पुस्तकालय स्थापनामा उहाँ सहभागी हुनुहुन्थ्यो । यस पुस्तकालयको स्थापना गर्नुका साथै उहाँ नेपाल लाइब्रेरी फाउण्डेसनको संस्थापक सदस्यसमेत हुनुहुन्छ । जसले नेपालका विभिन्न जिल्लाका पुस्तकालयलाई पुस्तक वितरणसमेत गर्दै आएको छ ।

समाजसेवामा सक्रियताका साथै पुस्तकालयहरूको स्थापना र सञ्चालनमा पनि महत्वपूर्ण भूमिका निभाउनुभएका उहाँले ललितपुरस्थित आफ्नै घरमा पुस्तकालय स्थापना गर्नुका साथै भृकुटीमण्डपमा सार्वजनिक पुस्तकालय स्थापनाकालदेखि नै सदस्यका रूपमा रहेर मद्दत पु¥याउनुभएको छ ।


उहाँले विभिन्न कृतिहरू लेख्नुभएको छ र ती कृतिहरू समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले लेखिएका छन् । उहाँले प्रख्यात तमिल भाषाको कृति तिरुक्कुलर पनि नेपालीमा अनुवाद गर्नुभयो, जसले नेपाली पाठकलाई नयाँ दृष्टिकोणसमेत प्रदान गरेको छ ।

त्यति मात्र होइन, नेपालमा अपाङ्गता भएका व्यक्तिहरूसँग पनि उहाँको गहिरो सम्बन्ध छ । उहाँले नेपाल अपाङ्ग सङ्घ जोरपाटीको सेक्रेटरी जनरलका रूपमा २३ वर्षसम्म काम गर्दै अपाङ्ग समुदायका लागि धेरै काम पनि गर्नुभएको थियो । त्यस्तै उहाँ हाल नेपाल दृष्टिविहीन कल्याण सङ्घको अध्यक्ष पनि रहनुभएको छभने दृष्टिविहीन समुदायका लागि पनि सामाजिक सेवामा समर्पित हुनुहुन्छ । तीर्थराज वन्त समाजसेवा र शिक्षा क्षेत्रमा अतुलनीय योगदानको एउटा गतिलो उदाहरण हुनुहुन्छ । उहाँको विचारमा पढ्न र पढाउनु पनि एक प्रकारको समाजसेवा नै हो र यसका माध्यमबाट मानिसको मानसिक विकास र समाजको उत्थान गर्न सकिन्छ भन्नेमा प्रष्ट हुनुहुन्छ ।

तीर्थराज वन्त नेपाल रेडक्रसजस्तो सामाजिक संस्थाका महत्त्वपूर्ण र समर्पित सदस्य, उक्त संस्थासँगको लामो र असाधारण अनुभव भएको व्यक्तित्व हुनुहुन्छ । उहाँको जीवनयात्रा र योगदान सामान्य नेपाली नागरिक तथा नेपाली समाजकै लागि पनि प्रेरणादायक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय