म्याग्दी, कोरोना महामारीका कारण थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै पूर्णरूपमा लयमा फर्किन सकेको छैन। जिल्ला प्रहरी कार्यालयका तथ्यांकअनुसार, महामारीअघि हरेक वर्ष ७५ हजारभन्दा बढी पर्यटक आउने म्याग्दीमा हाल ३० हजारको हाराहारी मात्र पर्यटक आउने गरेका छन्।
आर्थिक वर्ष ०८१/८२ मा ३० हजार ८६५ पर्यटक म्याग्दी आएका थिए। ०८०/८१ मा ३१ हजार ३३४, ०७९/८० मा २९ हजार ३२८ र ०७८/७९ मा ७ हजार ९२६ पर्यटकले भ्रमण गरेका थिए। महामारीअघि भने आव ०७५/७६ मा मात्रै ७५ हजार १९१ पर्यटक म्याग्दी आएका थिए। म्याग्दीको धवलागिरि, अन्नपूर्ण हिमाल आरोहण, तातोपानी कुण्ड, रुप्से झरना, अन्धगल्छी, गलेश्वर र बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थल आकर्षण बनेका छन्।
तर, म्याग्दीमा आउने ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइ भने घोडेपानी–पुनहिल क्षेत्र हो। घोडेपानी होटेल व्यवस्थापन उपसमितिकी अध्यक्ष मीना पुनका अनुसार, नयाँ गन्तव्य पहिचान र प्रवर्द्धनको कमी, पदमार्ग छोटिने सडक विस्तार, र पूर्वाधार विकासमा कमजोरीका कारण पर्यटक आगमन अपेक्षाअनुसार बढ्न सकेको छैन।


