काठमाडौं, देशभर डेंगुको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ। पानी पर्ने क्रम बढेसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ३,२४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ भने पछिल्लो एक हप्तामात्र २११ जना संक्रमित भएका छन्। यस रोगका कारण हालसम्म दुई जनाको मृत्यु भएको छ।
प्रदेशगत विवरणअनुसार, कोशीमा ५६८, मधेशमा ६२, बागमतीमा ६७५, गण्डकीमा ९१४, लुम्बिनीमा ५५१, कर्णालीमा ९३ र सुदूरपश्चिममा ३८४ जना संक्रमित भएका छन्। डा. गोकर्णप्रसाद दाहालका अनुसार वर्षा जारी रहेकाले संक्रमण अझै बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। डेंगु फैलाउने ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ लामखुट्टे प्रजाति पानी जम्ने सफा ठाउँमा प्रजनन गर्ने गर्छन्।
डेंगु नियन्त्रणका लागि सरकारले हरेक शुक्रबार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्दै आएको छ। सन् २०२४ मा नेपालमा डेंगु संक्रमण ७६ जिल्लामा फैलिँदा १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना संक्रमित भएका थिए।
