एजेन्सी–
युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता रहेका छन्।
यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा रहेका विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ। आक्रमणमा दर्जनौँ मानिस घाइते भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसले नौ क्षेत्रमा २८९ वटा आक्रमणकारी ड्रोन, १७ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र ५९ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणपछि देशका विभिन्न क्षेत्रमा आपतकालीन विद्युत् कटौती गर्नुपरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनले रुसी आक्रमण अमेरिकी निर्वाचनकै दिन भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायले यस्तो आतंकलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।
जेलेन्स्कीले युक्रेनको आकाशको रक्षा गर्न सहयोग आवश्यक रहेको उल्लेख गर्दै रुसलाई क्षेप्यास्त्र आक्रमणबाट रोक्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।


