उनका जीवनका आरोह–अवरोहको कथा
अहिलेको सबैभन्दा प्रभावशाली व्राण्ड हामा स्टीलसहित थुप्रै उद्योगलाई सफलताको उचाईमा पु¥याएका बालकृष्ण श्रेष्ठ नेपालका पायोनियर विजनेसम्यान हुन् । प्रशिद्ध उद्योगी मात्र होइन, कुनै समय नेपालको शिक्षा क्षेत्रमा उनले आमूल परिवर्तन ल्याएका छन् । उनलाई हालका डलर अर्वपति विनोद चौधरीले समेत गुरु मान्छन् ।
जहाँ हात हाल्यो, त्यही क्षेत्रलाई सफलताको उचाईमा पु¥याउने उनको खुबी भएकैले उद्योगीले मात्र होइन, नेपालका राजनीतिज्ञ, समाजसेवी सबैले उदाहरणीय व्यक्तित्व भन्दै सम्मानभाव प्रकट गर्छन् । श्रेष्ठले ‘मेरो संघर्ष, पौरख र प्रतिष्ठा’ समेटिएको हामा पुस्तक लेखेका छन् । जसमा उनको बाल्यकालदेखि व्यावसायिक जीवनसम्मका अनुभवलाई आर्कषक ढंगले प्रस्तुत गरिएको छ । २००० साल मंसिरमा वसन्तपुर, झोछे, काठमाडौंमा जन्मेका श्रेष्ठको बाल्यकाल निकै दर्दनाक रूपमा वितेको थियो ।
जबकि, उनी ३२ कोठी महाजन परिवारमा जन्मिएका हुन् । यो परिवारको कथा तत्कालीन श्री तीन जंगबहादुर राणासँग जोडिन्छ । किनकि, जंगबहादुरले उनको परिवारलाई सबैभन्दा धनी ३२ जना साहु महानजनको रुपमा छनोट गरेका थिए । यस्तो परिवारमा जन्मिए पनि उनको बाल्यकाल अभाव, दुःखले संघर्षपूर्ण बनेर बित्यो । श्रेष्ठ सोझा स्वभावका थिए । जन्मेदेखि आमाबाट पर्याप्त दुध खान पाएनन्, किनकि,
जन्मने वित्तिकै मूलमा परेको भनेर बुबा आमासँग राख्दै दिइएन । यतिसम्मकि, मूल्याहा जन्म परेको १२ वर्षसम्म बुबा आमाले हेर्न नहुने भनेर घरको तल्लोकोठा भाडामा लिएर बसेका व्यक्तिलाई ४ पैसामा वेचेका थिए । अर्थात् जन्मेको केही समयमै १२ वर्षका लागि बेचिएका थिए बालकृष्ण श्रेष्ठ तर, उनलाई किन्ने व्यक्तिको पनि झाडापखाला भएर निधन भयो, जसले गर्दा श्रेष्ठको बाल्यकाल झन् अभाव र कठिनाइमा वित्यो । उनले १२ वर्षसम्म पेटभरी खान पाएनन् । जाडो महिनामा न्यानो कपडा पाएनन् । काठमाडौँको कठ्याग्रिने ठण्डीमा चुरोटका बण्डल ओछ्याएर छिँडीको भूइँ कोठामा सुत्नुपर्दा उनी पटकपटक बेहोस भए । सोही कारण उनलाई निमोनिया भयो, तर कसैले उनको उपचार गरेनन । परिवारका धेरै सदस्य उनलाई प्रायः कुटपिट गर्थे, हेप्थे । तर, परिवारकै सदस्यको अन्याय र अत्याचारपूर्ण व्यवहारले श्रेष्ठलाई मजबुत बनायो । उनमा साहस, दृढता र प्रतिरोध क्षमता बढ्यो अनि नारकीय जस्तै लाग्ने कठिन त्यो समयबाट माथि सकुशल माथि उत्रिए । यतिबेला उनी उद्योग क्षेत्रकै अब्बल व्यक्तित्वका रुपमा सबैबाट पुजिएका छन् ।
शिक्षा र प्रारम्भिक करियर
उनले सजिलै पढाई लेखाई गर्न पाएनन् । तर, सन्तान नभएकोले ठुलीआमाले उनलाई पाल्न लगिन । अनि बल्ल बालकृष्ण श्रेष्ठले पढ्न पाए । विश्व निकेतनमा कक्षा १ मा उनको भर्ना भयो । ४ कक्षासम्म पढे । त्यहाँबाट दरबार हाइस्कूल भर्ना भए तर, पढेनन् । पछि, जेपी स्कुल क्षेत्रपाटीबाट उनले एसएलसी पास गरे । त्यसपछि उच्च शिक्षाका लागि आइकममा भर्ना भए । काम पनि गर्दै कलेज पढ्दै गरे । उनको सफलता यात्रा सुरु भइसकेको थियो । कलेज पढ्दै गर्दा विभिन्न सरकारी संस्था र केही बैंकमा पनि काम गरे । तर, एमकम पढ्नको लागि उनले कृषि विकास बैंकको अफिसर जागिर छोडे । २०२५ सालमा लोकसेवा आयोग शाखा अधिकृतको जागिर खाएका उनी २०२७ देखि २०३६ सालसम्म शिक्षा मन्त्रालयमा पोष्टिङ भए । त्यसबेला उनको तलब जम्मा ४५० थियो ।
उनले केही समय सानो ठिमिमा पढाए । तर, स्वरमा समस्या आएकोले पढाउने कामलाई निरन्तरता दिन सकेनन् । श्रेष्ठ २०४३ देखि हिमाल सिमेन्टको वोर्ड डाइरेक्टर सेयर होल्डर भए । २०४६ सालमा नेपाल वैंकको वोर्ड सन्चालक भए । उनी दुई कार्यकाल निर्वाचित सन्चालक हुन सफल भए । उनी सेयर किनेर स्टान्डर चार्टर वैंकको पनि सन्चालक भए । यस्तै, नेपाल एसविआई वैंकको नेपालको लागि पनि सन्चालक भएर काम गरे । बैंकमा सन्चालक भएर काम गरेपछि श्रेष्ठले केही समय योजना आयोगमा रिसर्च पर्सनका रुपमा काम गरे । यही कामले उनी निकै अनुभवी र परिपक्क बन्दै गए । उता उनको विजनेस सुरु भइसकेको थियो । त्यसको कथा झन् रोचक छ ।
उद्योग र व्यावसायिक सफलता

आफ्नो मिहेनतले कमाएको पैसाले ४ तलाको घर वनाउन लाग्दा डण्डी पसलेले उनलाई पत्याएन । त्यहीँ इखले उनले २०४५ सालमा फलामको डण्डी बनाउने ‘हामा आइरन इडस्ट्रिज’ स्थापना गरे । ‘हामा’ नाम हारती माताको सम्मानमा राखिएको हो, जसलाई काठमाडौं उपत्यकामा बालबालिकाकी देवीका रूपमा पूजा गरिन्छ ।
हामा डण्डी प्रयोग गरेर निर्माण भएका भवनहरू २०७२ सालको भूकम्पमा पनि सुरक्षित रहे । त्यसले श्रेष्ठलाई झन् उत्साह जगाएको छ । हामा डण्डीले राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान दिएका छन्–अमेरिकन एम्बेसी, हायात होटल, हाइड्रोपावर, मनकामना केवलकार, विभिन्न सडक र पुल निर्माण भएका छन् र जुन बलियो र सुरक्षित रहेको उनलाई सुनाउँछन् । जीवन भोगाईका यही अनुभवलाई उनले ‘हामा’ पुस्तकमार्फत साझा गरेका छन्। जुन अहिलेका युवा पुस्ताका लागि उपयोगी हुने उनको भनाई छ । श्रेष्ठले शिक्षा, उद्योग, बैंकिङ, र समाजसेवामा महत्वपूर्ण योगदान दिए । उनमा रहेको व्यावसायिक चेतले नै उनी देशविदेशमा प्रशिद्ध बनेका छन् ।
उनका एक छोरा र दुई छोरी छन् । उनै सन्तानले बालकृष्णको उद्योग र कम्पनीलाई हाँकिरहेका छन् । उनी भने आफ्ना जीवनका भोगाई, संघर्ष, सफलताका कुराहरू नयाँ पीढिलाई सुनाउन चाहन्छन् । नेपालमा व्यावसायी होस् वा उद्योगी, तिनीहरूले धैर्यता र नयाँ कुराको रिसर्चमा ध्यानदिनुपर्ने उनको सुझाव छ ।


