Sunday 7 June 2026 / आईतवार, २४ जेष्ठ २०८३

विगत करिब दुई साढे दुई दशकदेखि सञ्चार पेशामा निरन्तर क्रियाशील रहँदै आएको छु। मेरो जीवनको यात्रामा सञ्चार केवल पेशा मात्र नभई निरन्तर सिकाइको प्रक्रिया, समाजसँगको प्रत्यक्ष संवाद र जनतालाई सशक्त बनाउने माध्यमका रूपमा स्थापित भएको छ ।

सञ्चार क्षेत्रप्रति प्रारम्भिक आकर्षणले मलाई दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथासम्म डो¥यायो । यहीँबाट सुरु भएको संञ्चार यात्राले जीवनलाई नयाँ दिशा दिन थाल्यो । रेडियोको आवाजमार्फत सुन्ने र सुनाउने अभ्यासले मलाई गहिरो अनुभव दिलायो। त्यही जगमा टेकेर मैले टेलिभिजनको संसारमा पाइला टेरेँ। नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन च्यानल ‘नेपाल टेलिभिजन’मा सिक्ने अवसर प्राप्त भयो । त्यसपछि ‘सगरमाथा टेलिभिजन’, ‘न्यूज २४ टेलिभिजन’ र ‘हिमालय टेलिभिजन’ हुँदै करिब दुई दशक टेलिभिजन पत्रकारितामा संलग्न रहँदै मैले विभिन्न पाटाहरूमा अभ्यास गर्ने मौका पाएँ ।

समयसँगै सञ्चारको स्वरूप पनि बदलिँदै गयो । परम्परागत माध्यमहरूलाई पूरकका रूपमा अनलाइन पत्रकारिता उदय भयो। नयाँ पुस्ताको सोच र प्रविधिको मागलाई आत्मसात गर्दै मैले पनि अनलाइन पत्रकारितामा आफूलाई उस्तै उत्साहका साथ सक्रिय बनाएको छु । हाल म सञ्चारक्षेत्रको कान्छो विधा अनलाइन न्यूजपोर्टल न्यूजपोलार डट कम (नेपाली) र ई–न्यूजपोलार डट कम (अंग्रेजी) सँगै थर्डपोल ग्रुपमा आबद्ध छु।

पत्रकारिता मेरो लागि केवल पेशा होइन, क्यामरा र कलममार्फत समाजसँग जोडिने, सुन्ने र अभिव्यक्त गराउने एउटा अखण्ड यात्रा हो। हरेक दिन नयाँ कुरा सिक्ने, आफ्ना अनुभवहरू बाँड्ने र आगामी पुस्तालाई प्रेरित गर्ने संकल्पका साथ म यस यात्रामा अघि बढिरहेको छु।

सञ्चारलाई मैले सधैं एक विशाल विश्वविद्यालयका रूपमा लिएको छु। यो विश्वविद्यालयमा परीक्षा कहिल्यै सकिँदैन, किनकि सिकाइ निरन्तर जारी रहन्छ। अझै धेरै कुरा सिक्न बाँकी छ, बुझ्नुपर्ने थुप्रै पक्षहरू छन्। यही विश्वास, यही जिज्ञासा र यही लगनले मेरो यात्रालाई अझ अगाडि बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय