काठमाडौं, भारतको डुवर्समा निर्माण गरिएको नेपाली भाषाको फिल्म ‘धागो’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ।ट्रेलरले कथावस्तुको भावनात्मक गहिराइ उजागर गरेको छ, जहाँ परिवारभित्रको सम्बन्ध, आर्थिक कठिनाइका कारण उत्पन्न समस्या र सामाजिक दुरावस्थाको मार्मिक चित्रण गरिएको छ। सन्तानको सपना पूरा गर्न आमाबुबाले गर्ने संघर्षका दृश्यले दर्शकलाई छोएको छ।
उदीप राना थापा निर्देशित फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक *‘धागो’*लाई कथा–केन्द्रमा राखेको छ।
फिल्ममा सुरक्षा पन्त मुख्य भूमिकामा देखिएकी छन्। उनीसँगै प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतको अभिनय रहेको छ। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा प्रस्तुत भएकी छन्।
फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले निर्माण गरेको हो। उमा थापा, उत्तम थापा र निर्देशक थापा स्वयं निर्माता हुन् भने छायांकन अनिकेर एम घोघले गरेका हुन्।
फिल्म ‘धागो’ आगामी २८ कात्तिक (१४ नोभेम्बर) मा नेपाल र भारत दुबै देशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।


