Saturday 30 May 2026 / आईतवार, १७ जेष्ठ २०८३

दमौली (तनहुँ), जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली वा पोखरा जानुपर्ने बाध्यता अन्त्यका लागि हिमालय आँखा अस्पताल घारीपाटनसँग सम्झौता गरी केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब यहाँका स्थानीयवासीले आँखा उपचारका लागि अन्यत्र जानुपर्दैन । यहाँबाटै नियमित रूपमा उपचारको व्यवस्थाले सर्वसाधारणलाई सहज हुनुका साथै समय र खर्च बचत हुनेछ ।”

उपचार केन्द्र शुभारम्भको अवसरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ । शिविरमा विभिन्न वडाका सर्वसाधारण उपचारका लागि आएका अस्पतालले जनाएको छ । केन्द्र सञ्चालनका लागि प्राविधिकसहित उपकरण हिमालय आँखा अस्पतालले उपलब्ध गराएको छ भने उपचारका लागि अन्य सहयोग म्याग्दे गाउँपालिकाले उपलब्ध गराउने सम्झौता भएको छ ।सम्झौता अनुसार आँखा परीक्षण सेवाका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताललाई वार्षिक रु छ लाख उपलब्ध गराउनेछ भने बिरामीबाट सङ्कलित रकम गाउँपालिकाको आम्दानीका रूपमा रहने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरीय रूपमा सञ्चालन गर्न आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ । उक्त समितिको संयोजकमा थर्पु आधारभूत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनेछन् भने सहसंयोजकमा अध्यक्षले तोकेको एक जना समाजसेवी हुनेछन् ।

त्यस्तै सदस्यहरूमा म्याग्दे-४ का वडाध्यक्ष, वडा नं ७ का वडाध्यक्ष, हिमालय आँखा अस्पतालका व्यवस्थापक तथा व्यवस्थापकले तोकेको एक जना व्यक्ति, म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र सदस्य सचिवमा थर्पु अस्पतालका प्रमुख रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय