दशरथचन्द (बैतडी), अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै गएको छ । पछिल्लो समय यहाँ उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर र मिर्गौलासम्बन्धी रोगका बिरामीको संख्या बढ्दै गएको छ । समयमै स्वास्थ्य परीक्षण नगर्नु र नियमित व्यायामको अभावका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नसर्ने रोग परीक्षण अभियानका क्रममा १० प्रतिशतभन्दा बढी व्यक्तिमा उच्च रक्तचापको समस्या देखिएको छ ।
स्वास्थ्य कार्यालयले शिवनाथ गाउँपालिकाबाहेक जिल्लाका नौ स्थानीय तहका १३ हजार ५३१ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणका क्रममा एक हजार ४१० जनामा उच्च रक्तचाप, ५२७ जनामा मधुमेह, ८२९ जनामा मोटोपन र ९७ जनामा मिर्गौलासम्बन्धी समस्या देखिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । गम्भीर स्वास्थ्य समस्या देखिएका ५०९ जनालाई थप उपचारका लागि ‘रिफर’ गरिएको छ भने विभिन्न रोग पहिचान भएका एक हजार २३० जनाले उपचार सेवा पाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले नसर्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भए पनि अस्वस्थ जीवनशैलीका कारण यसको जोखिम निरन्तर बढिरहेको बताउनुभयो । उहाँका अनुसार अत्याधिक नुन, चिल्लो र चिनीको सेवन, प्रशोधित खाद्य पदार्थको प्रयोग, नियमित व्यायामको अभाव, धुमपान, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवनले जोखिम बढाएको छ ।
यस्तै, पर्याप्त निद्रा नहुनु, मानसिक तनाव र मोटोपनले उच्च रक्तचाप, मधुमेह, मुटु र मिर्गौला रोगको जोखिम पनि उत्तिकै बढाएको छ । स्वास्थ्यकर्मीका अनुसार नसर्ने रोग समयमा नै पहिचान गरी उपचार नगरे हृदयाघात, पक्षघात र मिर्गौला फेल हुनेजस्ता गम्भीर समस्या आउन सक्छ । जिल्ला अस्पतालका प्रमुख डा अरविन्द जोशीले स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित र पोषिलो आहार सेवन गर्न, दैनिक व्यायाम गर्न, धुमपान र मदिराबाट टाढा रहन तथा नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो ।


