एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारसँग मिलेर ‘पब्जी’ जस्तै मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । यसको उद्देश्य भनेको भारतीय बजारमा पब्जीले बनाएको स्थान लिनु हो । चिनियाँ मोबाइल गेम पब्जीमाथि प्रतिबन्ध लगाउने बित्तिकै यसको घोषणा गरिएको थियो ।बैङ्लुरुस्थित एनकोर गेम्स नामक कम्पनीले यो गेम तयार गरेको हो र यसलाई पब्जीको प्रतिद्वन्द्वी भनिएको छ । कम्पनीले यस गेमलाई फौजी नाम दिएको छ र यो अक्टोबरको अन्त्यसम्ममा बजारमा आउने भनिएको छ । कम्पनीका अनुसार अक्षय कुमारले नै यस खेलको नाम जुराएका थिए । शुक्रबार अक्षयले ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर भारत अभियान अन्तरगत यस खेललाई ल्याइएको जानकारी दिएका थिए ।