काठमाडौं, नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत महामहिम श्रीमती लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ।


राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राजदूत लिस्टियोवातीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो। समारोहमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत तथा ग्लोबल आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी हुनुभएको थियो।


राजदूत लिस्टियोवातीलाई लाजिम्पाटदेखि राष्ट्रपति कार्यालयसम्म परम्परागत बग्गीबाट राष्ट्रपति कार्यालय शीतलनिवाससम्म परम्परागत बग्गीमा सवार गराएर लगिएको थियो। नेपालको मौलिक कला, संस्कृति, परम्परा र आतिथ्य सत्कार झल्काउने यस प्रकारको स्वागतले विदेशी कूटनीतिज्ञलाई नेपालको सांस्कृतिक पहिचानसँग नजिकबाट परिचित गराउने विश्वास गरिन्छ।


परम्परागत बग्गीमा सवार भएर राष्ट्रपति कार्यालय पुग्ने अनुभव राजदूतका लागि विशेष र स्मरणीय रहेको बताइएको छ। यस्ता सांस्कृतिक तथा औपचारिक स्वागतले नेपाल भ्रमणमा आउने विदेशी पाहुनालाई आत्मीय अनुभूति गराउनुका साथै नेपालको सकारात्मक छवि अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुर्याउँछन्।


नेपाल र इन्डोनेसियाबीच कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहकार्य विस्तार गर्ने तथा पर्यटन, व्यापार, लगानी र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सम्बन्धलाई अघि बढाउने विषयमा पनि यस्ता कूटनीतिक भेटघाटले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालको सहभागिताले नेपाल–इन्डोनेसिया सम्बन्धमा निजी क्षेत्रको सहकार्य तथा आर्थिक कूटनीतिको महत्त्वलाई समेत उजागर गरेको छ।


राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा त्यसैगरी, गणतन्त्र घाना, गणतन्त्र सुडान, ब्रुनाई दारुस्सलाम तथा युरोपेली सङ्घका प्रतिनिधिले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो।


तस्बिर : प्रदीप राज वन्त ,रासस


