काठमाडौं, मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भन्ज्याङ खण्डको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। २७ करोड २२ लाख रुपैयाँ लागतको आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दा समेत भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो।
पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम भौतिक प्रगति भएपछि सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ।कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकिएको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकहरूलाई पत्राचार गरिएको छ।
उक्त सडकखण्डको निर्माण कार्यलाई निरन्तरता दिन आवश्यक स्रोत तथा बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने जनाइएको छ।


