Thursday 12 December 2024 / बिहीबार, २७ मंसिर २०८१

काठमाडौं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणका लागि विजेताहरू छान्ने प्रक्रिया शुरू भएको छ ।
गत असार ८ देखि भदौ १५ गतेसम्म खुल्ला गरिएको आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशनमा ३ सयभन्दा बढीको आवेदन परेको छ । यो नोमिनेशन संख्या गत वर्षभन्दा दुई गुणा बढी रहेको आयोजकले जनाएको छ ।कोभिड–१९ को महामारी र लकडाउनको बाबजुद पनि आइसिटी अवार्डमा देखिएको उत्साहले सूचना प्रविधि क्षेत्रमा सम्भावना र अवसरको खोजी भइरहेको अनुभव गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।
आइसिटी अवार्डमा यस वर्ष विभिन्न ११ विधाका लागि अनलाइन आवेदन खुल्ला गरिएको थियो । स्टार्टअप आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डमा सबैभन्दा धरै नोमिनेशनहरू प्राप्त भएका छन् । सबै विधाहरूमा गत वर्षभन्दा अहिलेको नोमिनेशन उत्साहजनक रहेको बताइएको छ ।स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवाडर्, सेल्फ नोमिनेशनका विधाहरू रहेका छन । यसैगरी, पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् ।

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थाहरूलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । इन्नोभेसन र वुमन आइकन यस वर्ष थप गरिएका नयाँ अवार्ड विधाहरू रहेको आयोजकले जनाएको छ । आइसिटी अवार्ड २०२० को लागि १४ जना विभिन्न क्षेत्रका विज्ञहरू जुरी समितिमा र १२ जना विशिष्ट व्यक्तिहरू जुरी सल्लाहकारमा रहेका छन् । आयोजकले गत बुधवार जुरी र जुरी सल्लाहकारहरूको पहिलो संयुक्त भर्चुअल मिटिङ सञ्चालन गर्दै अवार्डको छनौट प्रक्रियाहरू अघि बढाएको छ । उक्त छलफल कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले आइसिटी अवार्डले गर्दा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासक्रम र इकोसिस्टममा सघाउ पु¥याएको बताए । नास्टका उपकुलपति प्रा.डा सुनीलबाबु श्रेष्ठले नेपाल पछिल्लो एक वर्षमा ग्लोबल इन्नोभेसन इन्डेक्समा १४ स्थान माथि उक्लेको भन्दै आइसिटी अवार्ड कार्यक्रमले पनि यो उपलब्धिमा सहयोग पु¥याएको बताए ।सञ्चार तथा सूचना प्रविधि प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका उत्कृष्टलाई अवार्ड, स्टार्टअप र इन्नोभेसनलाई प्रोत्साहन गर्नको लागि महत्वपूर्ण कार्य भएको भन्दै मन्त्रालयले यस अभियानलाई सहयोग गर्ने बताए ।

यस वर्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरणबाट समेत अवार्डको छनौट समितिमा प्रतिनिधित्व रहेको छ । विभिन्न निजीक्षेत्रका अग्रज र विज्ञहरू सहित १४ जनाको जुरी समिति रहेको छ ।विभिन्न ११ विधालाई यस वर्ष ३ समूहमा विभाजन गरी छनोट प्रक्रिया शुरू भएको आयोजकले बताएको छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टुडेन्ट र इन्नोभेसन विधाहरूमा विभिन्न चरणका छनौटसँगै प्रिजेन्टेशन र पब्लिक भोटिङ समेत सञ्चालन हुनेछ ।  यसैगरी अन्य विधाहरूमा विभिन्न ३ चरणको छनोट प्रक्रियाहरू रहेको बताइएको छ । अवार्ड विजेताको घोषणा ग्राण्ड फिनाले कार्यक्रममा गरिनेछ । यस वर्षको छनौट प्रक्रिया तथा जु्री मिटिङहरुरू भर्चुअल रूपमा सञ्चालन हुने आयोजकले बताएको छ । सन् २०१६ देखि शुरू भएको आइसिटी अवार्ड नियमित रूपमा १७ अगष्टमा हुने गर्दथ्यो भने यस वर्ष कोरोनाको कारण केही महिनापछि सरेको छ । आयोजकले अवार्डको फिनाले कार्यक्रम डिसेम्बर महिनामा राखेको जनाएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्ड २०२० मा नेपाल सरकारका विभिन्न निकायहरू, नेपाल दूरसञ्चार प्राधिकरण, जिनस सोलुसन, इमिनेन्स वेज लगायतका संस्थाहरूको सहयोग रहेको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय