काठमाडौं । नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए)ले आफ्नो र नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसहित पाँच जनालाई कारबाही गर्ने निर्णय रद्ध गरिदिएको छ ।
नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षद्धय वरिष्ठ अधिवक्ता हरिहर दाहाल, प्रेमबहादुर खड्का, बारका पूर्वमहासचिव विजयप्रसाद मिश्र, डीएलकै पूर्वअध्यक्ष वरिष्ठ अधिवक्त यदुनाथ खनाल र अधिवक्ता श्रीराम दवाडी गरी पाँचजनालाई कारबाही गर्ने निर्णय रद्ध गरेको हो ।
डीएलएको अनुशासन समितिले गत असोज २९ गते उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध मंसिर २ गते पाँचैजनाले केन्द्रीय समितिसँग अनुशासन समितिको निर्णय बदरको माग गरेका थिए ।
अनुशासन समितिले गरेको निर्णयका विरुद्धमा केन्द्रीय समितिले पुनराबलोकन गर्न सक्ने व्यवस्था डिएलएको विधानमा रहेकाले केन्द्रीय समितिले पुनराबलोकन गरेर निर्णय रद्ध गरिदिएको हो ।
देशमा लोकतन्त्र, विधिको शासन र न्याय क्षेत्रमाथी आक्रमण भइरहेका बेला लोकतन्त्रवादी कानुन व्यवसायीहरु एक एक जुट हुनु पर्ने बेला रहेकाले उहाँहरुमाथीको कारबाहीको निर्णय रद्ध गरिएको डिएलएकी महासचिव लक्ष्मीदेवी दाहाल रावलले जानकारी दिनुभयो ।
बर्तमान परिस्थीति, अनुशासन समितिको निर्णय र निवेदकहरुको निवेदनलाई समेत मध्यनजर गरेर कारबाहीको बाटो तर्फ नजाने निर्णय कार्यसमितिले गरेको उहाँले बताउनुभयो ।
नेपाल बार एसोसिएसनको निर्वाचनमा डिएलएका उम्मेदबारहरुलाई हराउने क्रियाकलाप गरेको ठहर गर्दै अनुशासन समितिले उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो ।