काठमाडौं , महालेखा परीक्षकको कार्यालयले इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने भाइबर, मेसेन्जर, स्काइप, ह्वाटस् एप, वीच्याट, इमो लगायतका सेवाप्रदायकलाई करको दायरामा ल्याउन सुझाव दिएको छ । महालेखाले बैठक, गोष्ठी, सेमीनार सञ्चालन गर्ने जुम, बेभेक्स, सिस्को जस्ता एप्लिकेसनहरू पनि करको सीमा आउनुपर्ने औल्याएको छ ।
आयकर ऐन, २०५८ को दफा ६७(६) को (ज) अनुसार तार, रेडियो अप्टिकल्स फाइवर्स वा भू-उपग्रह जस्ता सञ्चार माध्यमबाट सूचना सम्प्रेषण गर्ने व्यवसाय सञ्चालन गर्ने व्यक्तिले नेपालमा स्थापित संयन्त्रबाट खबर वा सूचना सम्प्रेषण गरी प्राप्त गरेको भुक्तानी नेपालमा स्रोत भएको मानिने व्यवस्था छ । सोही ऐनको अनुसार नेपालमा सञ्चालित क्रियाकलापको सम्बन्धमा गरिएका भूक्तानीको स्रोत नेपालमा हुने व्यवस्था छ ।
इन्टरनेट मार्फत सेवा दिने एप्लिकेसनहरू नेपालमा निर्बाध रुपमा सञ्चालन भइरहेको र कतिपय सेवाको लागि अमेरिकी डलर खाताबाट रकम भुक्तानी समेत भैरहेको महालेखाले जनााएको छ ।


