काठमाडौ, गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनएका पूर्वउपाध्यक्ष आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आइएलओको सहयोगबाट सञ्चालित परियोजनामा भएको अनियमतिताको छानविन गर्न माग गरे ।
अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषदहरूको संख्या कम्तिमा एक सय पुर्याउने घोषणा गरेका छन । हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरू निष्क्रिय रहेका छन् । संघका पञ्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा रहेको छ । गैरआवासीय नेपालीहरूलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरूलाई पनि जोडने आचार्यको योजना रहेको छ । उनले थाइल्याण्ड, म्यानमार, मलेसियालगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने घोषणा गरे ।
आचार्यले आफू निर्वाचित भएमा संस्थाभित्र गरिएका अनियमितताहरूलाई बाहिर ल्याउने घोषणा गरेका छन् । उनले संघभित्र सानो समूहले चरम दुरुपयोग गरिसकेपछि ठूलो समूहमाथि दोष लगाउने गरिएको बताए । ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरूको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने छु, पैतृक सम्पतिको अधिकार, राहदानीसहित तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु,’ आचार्यले भने ।


