Tuesday 18 August 2026 / बुधबार, ३ भाद्र २०८३

धादिङ – पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल धादिङ शाखाले जिल्लास्तरीय फोटो प्रतियोगिता तथा फोटो प्रदर्शनी सम्पन्न गरेको छ। प्रतियोगितामा धादिङको दैनिक जनजीवन, पर्यटन,महिला तथा बालबालिका,कला धर्म र संस्कृति र आर्थिक गरी ५ विधाको उत्कृष्ट ५ फोटोलाई पुरस्कृत गरिएको हो ।

प्रतियोगितामा दैनिक जनजीवन विधामा सुशील श्रेष्ठ काठमाडौं, पर्यटन विधामा लाला गुरुङ, महिला तथा बालबालिका विधामा सागर बस्नेत काठमाडौं, कला धर्म र संस्कृति विधामा अर्जुन श्रेष्ठ धादिङ र आर्थिक विधामा पुजा थापा धादिङ पुरस्कृत भए । विजेताहरुलाई नगद २० हजार, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

प्रतियोगितामा पर्यटन विधा तर्फ ४७ वटा फोटो, महिला बालबालिका तर्फ ३० वटा फोटो, दैनिक जनजीवन तर्फ ३१ वटा फोटो, कला संस्कृति धर्ममा २३ वटा फोटो र आर्थिक विधामा १५ वटा गरी कुल १४९ वटा फोटोको सहभागीता रहेको थियो ।
त्यस्तै प्रदर्शनीमा स्कटल्याण्डको एबरडीनमा रहेको जोन एम हेन्डरसन कम्पनीबाट सामग्री मगाएर नेपालको आफ्नै इञ्जिनियर किशोर नरसिंह राणाले डिजाइनमा बनाइएको पुलहरु मध्य धादिङको आँखुखोलामा बनाईएको झोलुङ पुलको विक्रम संवत् १९७९ सालमा खिचिएको फोटो, २०३४ सालमा खिचिएको गजुरीमा ग्रामिण विद्युत विस्तार कार्यक्रम देखि हाल सम्मका करिव डेढ समय भन्दा बढी फोटोहरु राखिएको थियो ।

फोटो प्रतियोगीताको निर्णायकहरुमा राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त,महासचिव नवराज श्रेष्ठ र काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंसी रहनु भएको थियो ।

यस्ता छन् प्रतियोगितामा विजयी भएका फोटोहरु

प्रतियोगितामा फोटो पत्रकार सुशिल श्रेष्ठले उत्तरी धादिङको रुवी भ्यालीमा हलोजुवा बोकेर खेततर्फ गइरहेका किसानको फोटोले दैनिक जनजीवन विधा तर्फ पुरस्कार जित्न सफल भएको छ।

पर्यटन विधामा तर्फ फोटो पत्रकार लाला गुरुङले खिचेको उत्तरी धादिङको ५ हजार ८ सय ९६ मिटर उचाइमा रहेको प्याल्दोर पास गर्ने क्रममा भारी बोकेर हिउँमा हिडिरहेका भरियाहरुको फोटो उत्कृष्ट भएको छ ।

महिला तथा बालबालिका विधामा उत्तरी धादिङकै रुवीभ्यालीमा २ स–साना बालबालिकाहरुले आफु भन्दा साना बाबुनानी बोकिरहेको फोटो पत्रकार सागर बस्नेतले खिचेको फोटो उत्कृष्ट भएको छ ।

कला धर्म र संस्कृति विधामा भैरवी मन्दिरमा एक बालकले नगरा लगाइरहेको पत्रकार अर्जुन श्रेष्ठले खिचेको फोटो उत्कृष्ट भएको छ।

आर्थिक विधामा नीलकण्ठ माद्यमिक विद्यालयमा कक्षा १२ मा कानुन अध्ययनरत नीलकण्ठ नगरपालिका वडा नं १२ कि पुजा थापाले खिचेको मेसिनबाट कोदो कुटिरहेको उत्कृष्ट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय