काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रले महिला आवाज धारावाहिक वहस सुरु गर्ने भएको छ । बहसको पहिलो भाग जनवरी १७, २०२१ आइतबार हुने भएको छ । कार्यक्रमको आयोजक गैरआवासीय नेपाली संघको उत्तर र दक्षिण अमेरिका क्षेत्र रहेको छ । यो क्षेत्रलाई अमेरिकाज क्षेत्र भन्ने गरिन्छ ।
संघको अमेरिकाज क्षेत्रकी महिला संयोजक तथा कार्यक्रमकी संयोजक रहेकी उमा कार्की थापाले सो कुराको जानकारी दिनुभएको छ । साथै उहाँले आफ्नो कार्यक्रम अत्यन्तै आकर्षक हुने, यसबाट नेपाली समुदायमा एउटा फरक रुपान्तरको सुरुवात हुने समेत बताउनु भएको छ ।
यस्ता खाले कार्यक्रम गैरआवासीय नेपाली संघको महिला विभागले संघका ६ वटै क्षेत्रमा फरक–फरक रुपले संचालन गर्दै आएको छ । अमेरिकाज क्षेत्रले आयोजना गरेको कार्यक्रमको पहिलो बहस जनवरी १७, २०२१ आइतबार जुम र्यालीमा हुनेछ । पूर्वीय समय दिनको १२ः०० बजे सुरु हुने कार्यक्रममा महिला र युवा दुवै क्षेत्रलाई ‘फोकस’ गरिनेछ । कार्यक्रमलाई संघको आधिकारिक फेसबुक पेज र अन्य सञ्चारमध्यामबाट समेत प्रत्यक्ष प्रसारण गरिने एनआरएनएले जनाएको छ ।