Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

विराटनगर, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रको सहकार्य र साझेदारीमा मात्र दु्रत विकास सम्भव रहेको बताउनुभएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को पदस्थापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा विराटनगरमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्र साझेदारीले विकासको गतिलाई तीब्रता दिन सकिने बताउनुभएको छ ।
मलेसियाले छोटै समयमा विकास गरेका उदाहरणहरू प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले त्यहाँ राज्यले निजी क्षेत्रलाई विना लगानीको पार्टनरका रुपमा लियो, जसका कारण राज्यलाई २५÷३० प्रतिशत कर्पाेरेट लगायतको कर प्राप्त भयो र यसरी निजी क्षेत्रको लगानी विस्तार हुँदा देशले पनि छोटै सयममा यो रुपमा आर्थिक विकास गर्न सम्भव भएको बताउनुभयो ।

निजी क्षेत्रलाई राज्यको बिना लगानीको साझेदारका रुपमा लिन आग्रह गर्दै उहाँले नेपालमा पनि पुँजी तथा लगानीको समस्या नभई लगानीमैत्री वातावरणको समस्या रहेको बताउनुभएको छ ।

जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक पार्टनरको रुपमा हेर्दैन र निजी क्षेत्रका समस्याहरुको सम्बोधनका लागि तत्पर हुदैन, तबसम्म मुलुकमा सही रुपमा व्यावसायिक वातावरण बन्न नसक्ने उहाँले बताउनुभयो ।

“हाल देशमा पूँजीका कारण अर्थात पैसाका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था छैन । यसको एक उदाहरण अहिले कुनै एक सानो कम्पनीको आइपिओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्दछ, यसैबाट देखिन्छ कि जनतासँग छरिएर रहेको पूँजी धेरै छ, मात्र त्यसलाई समन्वय गर्ने, एकीकृत गर्ने र लगानीको वातावरण बनाउन सक्नुपर्छ,” उहाँले बताउनुभयो ।

नेपालमा पूँजीको अभावमा नभएर वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको उहाँले बताउनुभयो ।
यसैले नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि ठूलो लगानीका लागि वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने धारणा राख्नुभयो ।

“नेपालमा कामै भएको छैन भन्ने मेरो धारणा होइन । नेपालमा तीन तहका सरकार आएपछि धेरै काम भएका पनि छन् । प्रदेश सरकारहरुले आफ्ना प्रदेशमा लगानी भित्र्याउन गरेका प्रयासहरु पनि हामीलाई थाहा नै छ । तर पनि तीन तहका सरकारबाट निजी क्षेत्रका कतिपय मुद्दाहरुमा समन्वय हुन सकेको छैन । एउटै कामका लागि धेरै तिर धाउनुपर्ने र झमेला खेप्नुपर्ने अवस्था अझै कायमै छ । म निजी क्षेत्रको एक नेतृत्वका रुपमा तीनै तहका सरकारहरुलाई यो आग्रह गर्दछु कि निजी क्षेत्र पनि राज्यकै साझेदार हो, आवश्यक कानुनी तथा नीतिगत रुपमा सहयोग र समन्वय गरिदिनुहोस् ।”

ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
यसका लागि निजी क्षेत्रलाई हेर्ने राज्यको पुरानो दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा उहाँको तर्क थियो ।

“देशको प्रदेश नं १ होस् या देशैभरि कृषि, पर्यटन, जलस्रोत, निकासी लगायतका धेरै लगानीका सम्भावनाहरू रहेकोले त्यसका लागि देशका तिनै तहका सरकारको समन्वयात्मक भूमिकाका साथै राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरुलाई सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको छ ।” उहाँले भन्नुभयो ।

उहाँले नेपाल उद्योग वाणिज्य महासंघका देशैभरिका जिल्ला नगरका समस्याहरु (बोर्डर क्षेत्रका बाहेक) एकै खालका रहेका र आफूले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्राका क्रममा यस्तै गुनासा र समस्याहरु सुनेको भन्दै ती समस्याको समाधानका लागि देशका स्थानीय देखि प्रदेश सरकारको ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

“हामीले निर्वाचनका समयमा पनि आफूले र महासंघको वर्तमान कार्यसमितिका साथीहरुले कतिपय प्रतिबद्धताहरु लिएकोले ती समस्याहरुको समाधानमा आफू लागि परेको छु ।” उहाँले भन्नुभयो ।
देशमा लगानी सस्टेन गर्न र फस्टाउनका लागि पनि बैंकको व्याजदर घट्नुपर्ने आफ्नो मान्यता बमोजिम आफूहरुले नेपाल सरकार, नेपाल राष्ट्रबैकसँग महासंघ मार्फत् लबिङ गरिएको र जसका कारण अहिले बैंकको ब्याजदर सिङ्गल डिजीटमा आउन सम्भव भएको पनि उहाँले बताउनुभयो ।

“चन्द्र ढकाल बैंकको अध्यक्ष भएकोले बैंकको ब्याजदर घटाउने काममा लागेन भनेर कतिपय साथीहरु चुनावी फन्डा पनि बनाउनुभयो, तर त्यो सर्वथा गलत थियो । मैले देशमा व्यवसाय सस्टेन गर्न पनि बैंकको ब्याजदर घट्नुपर्छ भन्नेमै थिएँ । विगतदेखि नै र अहिले पनि त्यसैमा छु । हाम्रा यिनै पहलहरुले नै अहिले बैंकको ब्याजदर सिङ्गल डिजीटमा आएको हो ।” उहाँले भन्नुभयो ।

कोभिड–१९ को सबैभन्दा ठूलो असर व्यवसाय क्षेत्रमा परेको बताउँदै ढकालले कोभिड–१९ ले प्रभाव पारेको अर्थतन्त्रलाई लयमा ल्याउन राज्यले विशेष कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
सरकारले ल्याएको राहत अपुरो भएको टिप्पणी गर्दै सो राहत सम्बन्धित व्यवसायीहरुले समेत पाउन नसकेको र मौद्रिक नीति तथा बजेट आउँदा कोभिडको अहिलेको अवस्थालाई परिकल्पना नगरिएको हुँदा अहिलेका समस्याहरु सम्बोधन गर्न बजेट तथा मौद्रिक नीतिको पुनरावलोकन गर्नुपर्नेमा ढकालले जोड दिनुभएको छ ।

मुलुकलाई आर्थिक विकास तथा सम्मृद्धिकोे बाटोमा अगाडि बढाउन सर्वप्रथम कोभिडबाट प्रभावित व्यवसायलाई पुरानै लयमा ल्याउन जरुरी रहेको बताउँदै यसका लागि राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको धारणा थियो ।
वरिष्ठ उपाध्यक्ष ढकालले निर्वाचनका बेला जो सुकैका पनि आफ्ना एजेण्डा हुने या पक्ष विपक्ष हुने स्वाभाविक भएपनि चुनाव सकिएपछि त्यो एकमात्र अर्थात् सिंगो महासंघ हो भन्ने भावनाका साथ काम गर्न प्रदेश नं १ का पदाधिकारी तथा कार्यसमितिलाई आग्रह गर्नुभएको छ ।

“हो, मेरो या अरु कसैको पनि निर्वाचनका समयमा त्यो अवस्था थियो होला, तर त्यो सबै सकियो, हामी सबैको अबको एकमात्र काम भनेको व्यावसायिक छाता संगठनका रुपमा महासंघलाई प्रभावशाली र बलियो बनाउने हो र यसैमार्फत् देशमा व्यवसायिक वातावरण सिर्जना गरी व्यवसायीको संरक्षण र सम्बद्र्धन गर्ने हो । हामीले पनि आदरणीय शेखर गोल्छाको नेतृत्वमा यही काम गरिरहेका छौैं,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय