Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौँ,
कम्युनिष्ट विचार र आचारण कमजोर भएको अवस्थामा माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको ज्ञानले सुसज्जित पुस्तक ‘कम्युनिष्ट स्कुल’ सार्वजनिक भएको छ । माक्र्सवादी ज्ञान केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र देवेन्द्र पौडेलले संयुक्तरूपमा सो पुस्तकको लोकार्पण गर्नुभयो ।

माक्र्सवादी अध्ययन र लेखनमा रुचि राख्ने मनहरि तिमिल्सिनाले लेख्नुभएको उक्त पुस्तकले कम्युनिष्ट आन्दोलनमा क्रियाशील कार्यकर्तालाई माक्र्सवादी विचार र आचारका निम्ति अभिप्रेरित गर्ने विश्वास लिइएको छ । उहाँका अनुसार माक्र्सवादी विश्व दृष्टिकोण निर्माण एवं अध्ययनको व्यवस्थित पद्धतिका निम्ति पुस्तक निकै महत्वपूर्ण रहेको छ । माक्र्सवादको सिलसिलाबद्ध अध्ययन र विश्लेषण गर्न चाहने पाठकका लागिसमेत पुस्तक उपयोगी छ । जनमतका दृष्टिले उर्वर तथा ज्ञान र व्यवहारका दृष्टिले कमजोर बन्दै गएको नेपालको कम्युनिष्ट आन्दोलनमा सो पुस्तकले वैचारिक खुराक प्रदान गर्ने बताइएको छ ।

पुस्तकमा विभिन्न पाँच खण्ड रहेका छन् । दर्शनशास्त्र, माक्र्सवादी राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास तथा विज्ञान र प्रविधि खण्ड छन् । मुख्यतः दर्शनशास्त्र खण्डको पश्चिमा दार्शनिकको सूचीमा हेविड ह्युम, इम्यानुयल कान्ट, गोटलिव फिक्टेबारे संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ । त्यसैगरी दर्शकै क्षेत्रमा केही गैरमाक्र्सवादी प्रवृत्तिको समावेश गरिएको छ । माक्र्सवादी राजनीतिक अर्थशास्त्रमा दलाल नोकरशाही पूँजीवाद, पूँजीवाद र सूचना प्रविधि विषय थप गरिएको छ ।

पुस्तकको दोस्रो संस्करणमा वैज्ञानिक समाजवाद खण्डमा वामपन्थी र कम्युनिष्ट, विश्वका कम्युनिष्ट मुलुकहरु, विद्रोही नेकपाको एकीकृत जनक्रान्तिको सिद्धान्त थप गरिएको लेखक तिमिल्सिनाले जानकारी दिनुभयो । यसैगरी विश्वप्रसिद्ध कम्युनिष्ट नेताको सूचीमा क्लारा जेट्किन, म्याक्सिम गोर्की, होची मिन्ह, किमइल सुङ, चारु मजुमदार, फिेडल क्यास्ट्रो, गोञ्जालोलगायत नेताको योगदान प्रस्तुत गरिएको छ । विश्वप्रसिद्ध सुधारवादी नेताहरुका बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ ।

यस संस्करणमा कम्युनिष्ट इतिहासमा पनि केही विषय थप गरिएको छ । मुख्यतः विश्व कम्युनिष्ट आन्दोलनमा गोथा कार्यक्रम, अन्तर्राष्ट्रिय श्रमिक दिवस, वर्तमानमा कम्युनिष्ट आन्दोलन थप गरिएको छ । इतिहासकै खण्डमा झापा विद्रोह, पञ्चायती व्यवस्था र जनआन्दोलन २०६२/६३, कम्युनिष्ट आन्दोलनका उपलब्धि र कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानबारे चर्चा गरिएको छ । पुस्तकले पाठकलाई आफ्नो ज्ञानको दायरालाई फराकिलो बनाउन सघाउ पुग्ने विश्वास लेखक तिमिल्सिनाले गर्नुभयो ।

संविधान रक्षाका लागि सडकमा उत्रिएका हौँ : भट्टराई

कार्यक्रममा स्थायी कमिटी सदस्य भट्टराईले नयाँ पुस्तामा कम्युनिष्ट आन्दोलनका बारेमा जानकारी नलिने प्रवृत्ति बढिरहेका बेला कम्युनिष्ट स्कुल पुस्तक सार्वजनिक गरेर लेखकले युवा पुस्तालाई राजनीतिक र वैचारिकरूपमा उभ्याउन सफल भएको बताउनुभयो ।

प्रतिनिधिसभा विघटन क्रान्ति हो कि प्रतिक्रान्ति हो भन्ने विषयमा प्रष्ट हुनेपर्नेमा जोड दिँदै उहाँले संविधानमा माथि हस्तक्षेप भएको तर्क गर्नुभयो । उहाँले संसद् विघटन भएको दिन नेपाली इतिहासमा प्रतिक्रान्तिको दिन भएको टिप्पणी गर्नुभयो । “हाम्रो निष्कर्ष संसद् विघटन प्रतिक्रान्ति हो, नेपाली जनताले गरेका क्रान्तिलाई पछाडि धकेल्ने प्रयास होे”, उहाँले भन्नुभयो, “अहिलेको संविधान निर्माणकर्ता हामी हौँ, कम्युनिष्ट पार्टीको घोषणापत्रका अधिकांश विषय संविधानमा समेटिएका छन्, संविधानप्रति हाम्रो अगाध स्नेह छ, त्यसैले संविधान रक्षाका लागि हामी सडकमा उत्रिएका हौँ ।”

स्थायी कमिटी सदस्य तथा पार्टी स्कुल विभागका उपप्रमुख पौडेलले पछिल्ला समय पार्टी नेता कार्यकर्तामा अध्ययन संस्कृतिको कमी हुँदै गएकामा चिन्ता व्यक्त गर्दै माक्र्सवादलाई नजिकबाट बुझ्न चाहनेले उक्त पुस्तक पढ्नुपर्ने बताउनुभयो । अहिलेको नयाँ परिवेशमा नयाँ दृष्टिकोण निर्माण गर्न उक्त पुस्तकले सहयोग गर्ने उहाँको भनाइ थियो । “कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन पुस्तकले ठूलो भूमिका खेल्छ, पुस्तकले कम्युनिस्ट पार्टीका सदस्यलाई निकै ठूलो प्रेरणा दिन्छ”, उहाँले भन्नुभयो ।

पार्टी एकताका क्रममा भएका कमी कमजोरीलाई सच्याएर नेकपालाई नयाँ पार्टीका रूपमा रुपान्तरण गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताको माग एकतातिर छन्, रोजगारी खोजेका छन्, समाजवादी मोडेल खोजेका छन्, तर हामीले जनतासँग गरेको बाचा र व्यवहारमा तादम्यता मिलाउन सकेका छैनौँ ।” अहिले आफूहरु पार्टी पुनःनिर्माणको चरणमा रहेको र समाजवादी क्रान्तिलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । नेपाल बुद्धिजीवी सङ्गठनका संयोजक डा दिनेशचन्द्र देवकोटाले माक्र्सवादलाई नजिकबाट नियाल्नेलाई पुस्तक सन्दर्भ सामग्री भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय