Saturday 11 July 2026 / आईतवार, २८ असार २०८३

सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।


सुन्दरीजलबाट खाली गोडा, पहेँलो एवं हरि वस्त्र पहिरिएका भक्तजन लाम लागेर आएको दृश्य देखिन्छ । उच्च स्वरमा बोल बम शब्द गुञ्जायमान गराउँदै भक्तजन पशुपतिनाथ मूल मन्दिरतिर आइरहेका छन् । कति भक्तजन भने सवारी साधन प्रयोग गरेर पनि बोल बम यात्रामा सहभागी भएका छन् ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । आज अन्तिम सोमबार भएकाले गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिन्छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।


यस अवसरमा देशका विभिन्न भागमा रहेका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । यस वर्ष सौरमासअनुसारको साउन महिनामा पाँच सोमबार परेको छ । पहिलोपटक व्रत बस्नेका लागि पाँच सोमबार परेको वर्ष उत्तम मान्ने प्रचलन छ ।

फोटोहरु ः प्रदीपराज वन्त,रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय