Saturday 10 October 2026 / शनिबार, २४ आश्विन २०८३

काठमाडौं, नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसीएफटी) को २१औँ ग्र्याजुएसन फेसन शो ‘जर्नी अफ फेसन XXI : अनन्तरूपवितानम्’ सम्पन्न भएको छ। शोमा कलेजका २१औँ ब्याचका ५४ जना स्नातक फेसन डिजाइनरले तयार पारेका सिर्जनात्मक पहिरन प्रस्तुत गरिएको थियो।


‘कस्मिक थ्रेड्स अफ हेरिटेजः नेपाल बियोन्ड टाइम एन्ड युनिभर्स’ मूल विषयवस्तुमा आधारित शोमा नेपाली कला, संस्कृति, परम्परा र सम्पदालाई आधुनिक फेसन डिजाइनसँग जोडेर प्रस्तुत गरिएको थियो। मोडलहरूले विभिन्न शैलीका आकर्षक पहिरन र नवीन डिजाइन र्‍याम्पमा प्रदर्शन गरेका थिए।


सन् २००५ देखि आयोजना हुँदै आएको ‘जर्नी अफ फेसन’ फेसन डिजाइन अध्ययनको अन्तिम सत्रअन्तर्गतको शैक्षिक प्रस्तुति हो। यसले विद्यार्थीको सिर्जनात्मक क्षमता, व्यावसायिक दक्षता र डिजाइनसम्बन्धी ज्ञान प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ।


शोमा विद्यार्थीले पहिरन डिजाइन तथा निर्माण गर्नुका साथै कार्यक्रमको योजना, व्यवस्थापन, स्रोत सङ्कलन र सञ्चालनमा समेत सहभागिता जनाएका थिए।


उनीहरूका सिर्जनाको मूल्याङ्कन विज्ञ निर्णायक मण्डलले गरेको थियो। उक्त मूल्याङ्कनलाई पूर्वाञ्चल विश्वविद्यालयको अन्तिम सत्रको फेसन शो विषयको परीक्षाफलमा समेत समावेश गरिने कलेजले जनाएको छ।

‘अनन्तरूपवितानम्’ अवधारणाले नेपाली सम्पदालाई समय र ब्रह्माण्डको सीमाभन्दा परसम्म फैलिने सिर्जनात्मक सम्भावनाका रूपमा प्रस्तुत गरेको छ। परम्परागत हस्तकला, मौलिक सांस्कृतिक प्रतीक र ऐतिहासिक पहिचानलाई आधुनिक फेसनसँग संयोजन गर्दै नेपाली फेसनको विविधता र नवीनतालाई उजागर गर्ने उद्देश्य शोले राखेको थियो।



तस्बिर : प्रदीप राज वन्त/रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय