Wednesday 20 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

२२ असोज,
नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो ।

तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ ।
अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो ।

हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केहीदिन लम्बिएको मौसमविद् पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ । यो वर्ष मनसुन बाहिरिने क्रममा बङ्गालको खाडीबाट आएको न्यून चापीय क्षेत्रको असरले लम्बिएको हो ।”

अहिले राजधानी काठमाडौँ, पश्चिमको पोखरा (कास्की) लगायत देशका पूर्वी भेगको मौसम सामान्यतया सफा रहेको छ । पश्चिमका कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले वर्षा भइरहेको र मनसुन पनि सोही क्षेत्रमा केन्द्रीत रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

उहाँका अनुसार आगामी मङ्गलबारदेखि मौसम सुधार आउनेछ । मनसुन रहदासम्म पानी पर्ने सम्भावना रहेपनि लगातारको झरी पर्दैन ।

महाशाखाको पछिल्लो तीन घण्टाको विवरणमा डडेलधुरामा १३ मिलिमिटर, बैतडीमा १८ मिलिमिटर, बर्दियामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय