Tuesday 19 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

काठमाडौँ, १३ कातिक ।
नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्राडा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गर्नुभएको छ ।

हालैमात्र डा कैनीका अदृश्य मनका सादृश्यहरू (निबन्धसङ्ग्रह), सिमाहीन सिमा र रङ्गको पहिचान (कवितासङ्ग्रह), भिसागर्ल (कथासङ्ग्रह) र प्रतिबिम्ब (गजलसङ्ग्रह) गरी एकै पटक ५ कृति सार्वजनिक भएको थियो । वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीलगायतका विशिष्ट व्यक्तिहरुबाट पाँच वटा पुस्तकको एकसाथ विमोचन भएको थियो ।

ती कृतिबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धारका साथै खाना, नाना र छानाको प्रबन्ध गरी परिवार खोजेर पुन:मिलन गराउँदै आएको मानवसेवा आश्रमलाई दिने घोषणा गर्नुभएको हो ।

उहाँले पहिलो चरणको सहयोगअन्तरगत पुस्तक विमोचनका अबसरमा उठेको रु २१ हजार ८६० आश्रमका केन्द्रिय सदस्य सुमिरा लामालाई हस्तान्तरण गरिसक्नुभएको छ । केन्द्रिय सदस्य लामाले यस्तै परोपकारी व्यक्तिहरुको सहयोगबाट नै आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी (सडकआश्रित) मानवहरुहरुको पालनपोषण भइरहेको जानकारी गराउँदै डा कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताउनुभयो ।

“मेरा यी पाँच वटै कृति बिक्रीबाट आएको सबै पैसा म मानवसेवा आश्रमका लागि अर्पण गर्नेछु”, डा कैनीले भन्नुभयो, “आश्रमको सेवालाई यसले थोरै भए पनि सहयोग पुग्ने अपेक्षा छ ।” वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले एकैपटक पाँच कृति ल्याएकोमा डा कैनीलाई बधाई दिनुभयो ।

मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिक स्थलहरूमा घरपरिवार र आफन्तविहीन भइ कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडकआश्रित मानवहरूको उद्धार, उपचार एवं परामर्श गर्दै आइरहेको छ ।

आश्रमले परामर्शका क्रममा परिवार भेटिएकाहरूको पारिवारिक पुन:मिलन र परिवार नभेटिएकाहरूको संरक्षण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय