काठमाडौं । लिन्डा याकारिनो सोसल मिडिया प्लाटफर्म ट्वीटरको सीईओ नियुक्त भएकी छन् । ट्वीटरका नयाँ मालिक एलन मस्कले लिन्डालाई नयाँ सीईओ नियुक्त गरेको आधिकारिक घोषणा गरेका हुन् । उनले यही हप्तादेखि कम्पनीको नेतृत्व सम्हाल्ने बताइएको छ ।
लिन्डाले मुख्य रुपमा व्यवसाय सञ्चालनको विषयमा ध्यान केन्द्रित गर्ने र आफू प्रडक्ट डिजाइन तथा प्रविधिको क्षेत्रमा केन्द्रित हुने मस्कले जनाएका छन् ।
मस्कले गत वर्ष अकटेबर मा ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरीद गरेका थिए । त्यसपछि उनले तत्कालीन सीईओ पराग अग्रवाल लगायतका विभिन्न वरिष्ठ अधिकारीहरुलाई बर्खास्त गरेका थिए र आफैंले कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका थिए । साथै गत फेब्रुुअरीमा आफ्नो कुकुर शिबा इबु नामक कुकुरलाई कम्पनीको सीईओको कुर्सीमा बसालेको तस्वीर सार्वजनिक गरेका थिए ।
ब्लुम्बर्गको रिपोर्ट अनुसार मस्कले ट्वीटरको सीईओको रुपमा पदभार सम्हालेसँगै उपयुक्त व्यक्ति फेला परेसँगै आफूले सीईओको पद सुम्पिने बताएका थिए । अब मस्कले ट्वीटरको सफ्टवेयर तथा सर्भर टिमको नेतृत्व गर्नेछन् ।


