अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले शैक्षिक संस्थाले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञा समयको शुल्क लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्यले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “महिनौँसम्मको लकडाउनले गर्दा देशको शैक्षिक सत्र प्रभावित बन्न पुगेको थियो । लामो समयको अन्योलतापछि वैकल्पिक सिकाइका नाममा चर्काे शुल्क असुल्ने, यातायात सुविधालगायत विभिन्न शीर्षकमा लिइएको पाइएकाले सो शुल्क तत्काल खारेज गर्न सम्बन्धित निकायलाई जोडदार माग गर्दछौँ ।”
अनेरास्ववियुले लकडाउन अवधि (आठ महिना)को मासिक शुल्कलगायतका अन्य शुल्क मिनाहा गर्नुपर्नेलगायतका ११ बुँदे माग राखेको छ । वार्ता र छलफलको माध्यमबाट एक हप्ताभित्र माग सम्बोधन नगरेमा यसबाट सिर्जना हुने जस्तोसुकै परस्थितिको सामना गर्न तयार रहन अनेरास्ववियुले चेतावनी दिएको छ ।
एमाले र माओवादी पार्टीको बोर्ड राखियो
सर्वोच्च अदालतले नेकपा कम्युनिष्ट पार्टी (नेकपा)लाई गरेको बदरका कारण पार्टी विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भएपछि दुवै दलले चितवनमा आफ्नो पार्टी कार्यालय स्थापना गर्दै बोर्ड राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भरतपुर–१० मदननगरस्थित पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ । मङ्गलबार एक कार्यक्रमका बीच चितवनका नेता कार्यकर्ताले साविक एमालेको पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले) लेखेको बोर्ड राखेका हुन् । यसअघि सो कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड थियो । पार्टी कार्यालयमा साविकका एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो पनि टाँसिएको छ । बोर्ड हालेपछि नेता कार्यकर्ताले खुशीयाली मनाउँदै नाचगान पनि गरेका थिए ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ । मङ्गलबार एक कार्यक्रमका बीच चितवनका नेताकार्यकर्ताले साविकको माओवादी केन्द्रको पार्टी कार्यालयमा माओवादी केन्द्र लेखेकै बोर्ड राखेका हुन् । पार्टी कार्यालयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीरसमेत राखिएको छ । यसअघि सो कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुरको बोर्ड थियो ।


