Saturday 11 July 2026 / आईतवार, २८ असार २०८३

चितवन, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्यतिथिमा देवघाटमा आज आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै उहाँले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ । लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ ।”

अहिले सबैतिर चिन्ता छाएको हुनाले सबै सजग भएर विखण्डनको धारणा राख्नेलाई विकल्प दिनुपर्ने उहाँको जिकिर थियो । अहिले देशमा जोशी जस्ता योग्य र इमान्दार नेताको खाँचो रहेको नेता पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जोशी एक योग्य र इमान्दार नेता हुनुहुन्थ्यो । अब यस्ता नेताको पूर्ति कसरी गर्ने ।” कांग्रेसले एक कुशल नेता गुमाउनु परेकामा दुःख लागेको नेता पौडेलले बताउनुभयो । नेता जोशीले देश र जनतालाई आफूभन्दा माथि राख्दै काम गरेको बताउँदै उहाँले जोशीको समर्पणलाई पूरा गर्नु कांग्रेसको जिम्मेवारी रहेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, गलेश्वर आश्रमका पिठाधीश १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, पूर्वमन्त्री यज्ञबहादुर थापा, तनहँु कांग्रेसका सभापति वैकुण्ठ न्यौपाने, नवलपुरका सभापति विष्णु लामिछाने, गुल्मीका सभापति भुवन श्रेष्ठ, धादिङका सभापति रमेश धमलालगायतले बोल्नुभएको थियो । कार्यक्रमपश्चात् कांग्रेसका वरिष्ठ नेतासहितको उपस्थितिमा स्व जोशीको अस्तु उहाँका दाजु राजुराज जोशीले देवघाटको वेणी सङ्गममा विसर्जन गर्नुभएको छ । स्व जोशीको आमाको चाहनाअनुसार अस्तु देवघाटमा विसर्जन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय