Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं, लोक सांगीतिक क्षेत्रमा अब्बलमध्येका एक सर्जक नेत्र अर्यालले लोक दोहोरी गीत ‘रहरले होइन मायालु’ बजारमा ल्याएका छन्।

चर्चित लोक गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीले स्वर दिएका गीतमा नेत्र अर्यालको शब्द तथा सेन्चुरीकै लय रहेको छ। शनिबार नेत्र अर्यालले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्।

अर्यालले अस्थितरताले घरव्यवहार, कृषि, व्यवसाय र रोजगारीको क्षेत्रमा देखिएको विषम परिस्थितिलाई गीतमार्फत उठाएका छन्। रहरले नभई घर, समाज र देशमा उत्पन्न परिस्थितिले देश छाड्नुपर्ने अवस्था सिर्जना गरेको विषय गीतको भिडियोमा देखिन्छ।

भिडियोमा खेम सेन्चुरी, जुना गुरुङ, विनोद भण्डारी, आयुष्मा कार्की, ओबी रायमाझी, जुना कार्की, शम्भु कुँवर, नारायणी खत्री र यसु भट्टराईले अभिनय गरेका छन्।

सर्जक अर्याल आफैँ पनि शिक्षकको भूमिकामा भिडियोमा देखिएका छन्। जागिर गरेर तलब माग्दा राजीनामा थमाइएपछि श्रीमती र परिवार छाडेर परदेश पसेको अवस्था देखिन्छ।

गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा गीत र नेपाली समाजको सामाजिक यथार्थताको चर्चा सुरु भएको छ। परदेश पसेकाहरूले गीतलाई आफ्नो जीवन र देशको अवस्थासँग जोडेर सञ्जालमा प्रतितिक्रिया दिइरहेका छन्।

गुल्मीको इस्मा गाउँपालिका– ४ दोहलीका नेत्र अर्यालले थुप्रै कर्णप्रिय गीतहरू सिर्जना गरेका छन्। नेपाल सरकारको निजामती कर्मचारी भए पनि अर्यालले पछिल्लो समय लेखेका ‘अरेली काँडैले च्वास्सै’, ‘रमरम मरौटी’, ‘सोचेझैँ जिन्दगी रैनछ’, ‘सुर्ती माड्दै माड्दै गयो जोवन’, ‘धनगढीको बसमा,’ लगायतका चर्चीत गीतहरू सिर्जना गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय