‘मिस्टर एण्ड मिस टिन सुपर मोडल’को छैटौँ संस्करणमा सम्पन्न राज खड्का र श्रेया खनाल विजेता बनेका छन्। युवापुस्ताको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व, फेसन चेतना तथा मौलिकतालाई केन्द्रमा राखिएको प्रतियोगितामा दुवैले उत्कृष्ट प्रस्तुति दिँदै प्रतिष्ठित उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन्। प्रतियोगिताले युवा प्रतिभाहरूलाई आफ्नो र्याम्प वाक, व्यक्तित्व, आत्मविश्वास, प्रस्तुति क्षमता तथा सिर्जनात्मक सम्भावना प्रदर्शन गर्ने प्रभावकारी मञ्च प्रदान गरेको थियो। विजेता सम्पन्न राज खड्का र श्रेया खनालले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। त्यस्तै, दुवै विजेताका लागि एभरेस्ट फिल्म एकेडेमीमा १ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको छ। पुरस्कार प्याकेजअन्तर्गत आशिका एकेडेमीबाट व्यावसायिक मेकअप कोर्स तथा नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति समेत समावेश गरिएको छ।

प्रतियोगिता एभरेस्ट इभेन्ट्सको आयोजनामा सम्पन्न भएको हो। संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठ (रो बेन)को नेतृत्वमा आयोजित प्रतियोगितामा सुगन्धा अधिकारी र अर्शु महर्जनले कोरियोग्राफी गरेका थिए। उनीहरूको कोरियोग्राफीले प्रतियोगिताको र्याम्प प्रस्तुतिलाई ऊर्जाशील, आकर्षक र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो। कार्यक्रमलाई अनुभवी फेसन कोरियोग्राफर तथा मिडिया व्यक्तित्व रोजिन शाक्यले सञ्चालन गरेका थिए।
मुख्य विजेतासँगै प्रतियोगितामा सहभागी अन्य प्रतिभाशाली प्रतियोगीहरूलाई पनि विभिन्न विधाका उपाधि तथा विशेष सम्मान प्रदान गरिएको थियो। मिस्टरतर्फ मोहम्मद सोहेल फर्स्ट रनर–अप, निकेश खड्गी सेकेन्ड रनर–अप तथा ईशान चुडाल थर्ड रनर–अप घोषित भए। आशुतोष बस्नेतले ब्रान्ड एम्बेसडरको उपाधि प्राप्त गर्दा तर्जन दनुवार अर्गनाइजर च्वाइसका रूपमा छनोट भए। सिद्धार्थ श्रेष्ठलाई ‘फेस अफ टिन सुपर मोडल २०२६’को उपाधिबाट सम्मानित गरियो।
त्यसैगरी, मिसतर्फ हिमानी खरेल फर्स्ट रनर–अप, सोफिया थुलुङ राई सेकेन्ड रनर–अप तथा स्याकारिन श्रेष्ठ थर्ड रनर–अप घोषित भए। रोशनी सोपले ब्रान्ड एम्बेसडरको उपाधि हात पारिन् भने कुसुम घिसिङ अर्गनाइजर च्वाइसका रूपमा छनोट भइन्।

विशेष विधातर्फ कृषु पहेलीले ‘ब्युटी विथ ब्रेन’को उपाधि प्राप्त गरिन्। सौन्दर्यसँगै बौद्धिक क्षमता र व्यक्तित्वको महत्त्वलाई समेत उजागर गर्ने यस विधाले प्रतियोगिताको उद्देश्यलाई थप अर्थपूर्ण बनाएको थियो। आराबी दुलाल ‘भ्यालेन्टिनो ब्रान्ड एम्बेसडर’ घोषित भइन् भने लिओना श्रेष्ठले ‘भ्युर्स च्वाइस’को उपाधि प्राप्त गरिन्। इशिका मगर ‘मस्ट पपुलर’ घोषित भइन् भने असुना घलेले ‘मस्ट पपुलर रनर–अप’को उपाधि हासिल गरिन्। इशिका मगरले ‘फेस अफ टिन सुपर मोडल २०२६’को प्रतिष्ठित उपाधिसमेत आफ्नो नाममा पारिन्। प्रतियोगितामा सहभागी युवा मोडलहरूले Valentino The Boutique तथा Samshree Attireका आकर्षक तथा समकालीन फेसन सिर्जना प्रस्तुत गरेका थिए। आधुनिक डिजाइन, आकर्षक स्टाइलिङ र ऊर्जाशील र्याम्प प्रस्तुतिले प्रतियोगितालाई थप भव्य र मनोरञ्जनात्मक बनाएको थियो।


