दिनेश उप्रेती (काभ्रेपलान्चोक) – समाजसेवी एवम् उद्यमी (हाल ः बेल्जियम)
साधा जीवन–उच्च विचारका अनुयायी दिनेश उप्रेती (५१) वि.सं. २०२८ असोज २५ गते पाँचखाल नगरपालिका–१३, कोशीदेखा, काभे्रपलान्चोकमा जन्मनुभएका कर्मठ समाजसेवी एवम् उद्यमी हुनुहुन्छ । पिता छविकृष्ण उप्रेती र माता सावित्री उप्रेतीका ज्येष्ठ सुपुत्र उप्रेती सामाजिक सेवा, सङ्घ–संस्थाको नेतृत्वकर्ता जस्ता पाटोमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ ।
काभ्रेपलान्चोक जिल्लाका श्रीराम निमाविबाट आधारभूत र श्री भगवती माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरी काठमाडौँस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातकतकसम्मको अध्ययन पूरा गर्नुभएका उप्रेतीले केही वर्ष नेपाल ल क्याम्पस काठमाडौँमा आई.एल.का विद्यार्थीका रूपमा समेत समय व्यतित गर्नुभयो ।
स्वदेशी भूमिमा समृद्ध जीवनको परिकल्पना पूरा गर्नका निम्ति विदेशी ज्ञान, सिप र दक्षतालाई आत्मसात् गर्नुपर्छ भन्दै आजभन्दा २५ वर्ष पहिला युरोप पुग्नुभएका उप्रेती युरोपमा उच्चशिक्षा मात्र आर्जन गर्न लाग्नुभएन; शिक्षासँगै व्यावसायिक यात्राको पनि यात्री बन्न पुग्नुभयो । फलतः युरोप पुगेपछि उप्रेतीका दिनचर्या पठनपाठनसँगै साझेदारी व्यावसायीका रूपमा स्थापित हुन पुग्यो ।
हाल उप्रेती आफ्नी जीवनसाथी शान्ति भट्टराई र पुत्र द्वय दीप्सन र समन भट्टराईसँग बेल्जियमको लुभेन सहरमा बसोवास गर्दै आउनुभएको छ । लुभेनमा उप्रेती गैरआवासीय नेपालीका रूपमा रही होटल एवम् रेस्टुरेन्ट व्यवसायमा तल्लीन हुनुहुन्छ । उहाँद्वारा सञ्चालित व्यक्तिगत एवम् साझेदारी व्यवसायले थुप्रै नेपाली दाजुभाइ–दिदीबहिनीलाई रोगजारीमा आबद्ध गराएको छ ।

विश्वको बदलिँदो विषम आर्थिक अवस्थामा नेपाली दाजुभाइ, दिदीबहिनीलाई धेरथोर आर्थिक सहयोग हुने रोजगारी सिर्जना गर्न पाउँदा आपूmलाई नेपालीपनको अपनत्व महसुस भएको सम्झनु हुने उप्रेती काभ्रेली समाज र युरोपेली नेपालीका बिचमा लोकप्रिय हुनुहुन्छ ।
समृद्ध नेपाल–सुखी नेपालीको लक्ष्यलाई पूरा गर्नका लागि नेपाल सरकारले उपयुक्त लगानी वातावरण मिलाउन सके आपूm जस्तै हजारौँ गैरआवासीय नेपाली नेपालकै माटोमा फर्कने र नयाँ–नयाँ उद्योगमा लगानी गर्ने विश्वास बोकेका उप्रेती समाज सेवालाई मानव जीवनको पर्याय मान्नुहुन्छ ।
२०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको महाविनाशकारी महाभूकम्पका पीडितहरूलाई व्यक्तिगत एवम् संस्थागत रूपमा आर्थिक सहयोग गर्नुभई मानव सेवाको ज्वलन्त उदाहरण बन्नुभएका उप्रेतीले विभिन्न जिल्लाका विद्यालयलाई निरन्तर रूपमा शैक्षिक एवम् खेलकुद सामग्रीसमेत वितरण गर्दै आउनुभएको छ ।
नेपाल तथा बेल्जियमका विभिन्न सङ्घ–संस्थामा क्रियाशील उप्रेती इन्टरनेसनल काभ्रेपलान्चोक सेवा समाज, बेल्जियमका संस्थापक अध्यक्ष हुँदै हाल सन् २०२४–२०२६ का लागि सोही समाजका केन्द्रीय अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ ।
अध्यक्ष चयनसँगै उप्रेतीले संसारभरका काभ्रेलीले दिएको विश्वासको मतलाई उच्च कदर गर्दै आफ्नो कार्यकालमा काभे्रपलान्चोक सेवा समाजका नाममा अक्षय कोष विस्तार गरी त्यसबाट प्राप्त हुने ब्याजले काभ्रेली जनताको शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधारमा खर्च गर्ने, विश्वभरि छरिएर रहेका काभ्रेलीलाई सेवा समाजमा गोलबद्ध गर्दै आपसी भ्रातृत्व सम्बन्धलाई विस्तार गर्ने, काभ्रेली जनसमुदायको जनघनत्व उच्च रहेका स्थानमा समाजको शाखा स्थापना गरी समाजका गतिविधिलाई अझ प्रभायुक्त बनाउने एवम् उपचारका लागि सहज रूपमा बिरामी ल्याउन–लैजान असुविधा रहेका पालिकाहरूमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने जस्ता महत्त्वपूर्ण योजना तय गर्नुभएको छ ।
आपूmले गरेका कामलाई प्रचार–प्रसार गर्नुभन्दा पनि त्यसले दिने आत्मसन्तुष्टिले महत्त्वपूर्ण हुन्छ भन्ने उप्रेती मानव भएर जन्मिएपछि वसुधैव कुटुम्बकम्को अर्थलाई शिरोधार्य गर्नुपर्ने चिन्तन राख्नुहुन्छ; जसअनुसार आपूmलाई समर्पित गर्दै लैजान सदैव क्रियाशील हुनुहुन्छ ।


