Saturday 4 July 2026 / शनिबार, २० असार २०८३

गोरखा । जिल्लाको अधिकाशं विद्यालयमा आवश्यक शिक्षक दरबन्दी छैन । पर्याप्त शिक्षक दरबन्दी नभएपछि अभिभावकहरु चन्दा उठाएर छोराछोरी पढाउन बाध्य छन् ।

सोही क्रममा शहिदलखन गाउँपालिका–७ का चण्डिका आधारभूत विद्यालयले निजी स्रोतमा शिक्षक राख्न चन्दा संकलनको सुरु गरेको छ । विद्यालयमा भएको शिक्षक दरबन्दी कटौती भएपछि वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, स्थानीय र शिक्षकहरुले चन्दा संकलन गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

‘विद्यालय त चलाउनु प¥यो । त्यसैले चन्दा संकलनको काम थालेका छौँ,’ उनले भने्, ‘यो अभियानमा शिक्षकहरु, स्थानीय अविभावक लगायत सबै क्षेत्रबाट सहयोग प्राप्त भएको छ । आशा छ विद्यालयमा दरबन्दी काटिएर शिक्षक गए पनि हामीले निजी स्रोतमा राख्न सक्छौँ ।’

कक्षा १–८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा जम्मा १० जना शिक्षकहरु छन् । विद्यालयमा १६५ जना विद्यार्थी छन् । उक्त विद्यालयमा निमावि तहमा राहत दरबन्दी ३ वटा छ ।
त्यस्तै प्राविमा ५ वटा दरबन्दी भए एउटा हटेर चार वटा भएको छ । गाउँपालिकाले पत्र काटेर थप एउटा दरबन्दी पनि काट्ने जानकारी दिइसकेको छ । ‘दरबन्दी काटिन थालेको छ,’ विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले भने, ‘विद्यालय त चलाउनै प¥यो । त्यसैले वडाअध्यक्षज्यूको साथ पाएर हामीले चन्दा संकलनको काम थालेका छौँ ।

’ वडा अध्यक्ष श्रेष्ठ स्वयम आफैँले २८ हजार रुपैयाँ प्रदान गरेर चन्दा संकलन अभियान सुरु गरेका छन् । अध्यक्ष श्रेष्ठले चन्दा दाताको विवरण आफ्नो फेसबुकमार्फत सार्वजनिक गरिरहेका छन् । उनले चन्दा संकलन अभियान केही समय जारी रहने पनि बताए ।
उनले निमावि तहमा विषयगत शिक्षक जम्मा तीन जना भएको र अन्य विषय भने प्रावि तहका शिक्षकहरुले पढाउँदै आएको बताए । वडा अध्यक्ष श्रेष्ठको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विकलगायत सहभागी भएको बैठकले निजी स्रोतमा शिक्षक राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय