काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, परीक्षा सञ्चालन गर्न सक्ने अवस्था रहने, तत्कालका लागि स्थगित गरियो, परीक्षा हुने समय पुनः अर्को सूचना निकाल्छौं,’ उनले भने ।
जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा पनि अन्यौलमा छ । परीक्षा हुन महिना दिन बाँकी छ तर महामारीले पठनपाठन बन्द छ भने अधिकांश जिल्ला निषेधाज्ञामा छन् । करिब ४ लाख परीक्षार्थी कक्षा १२ मा छन् । यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी छ । गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा दिएको थियो ।
कोरोनाको संक्रमण कायमै रहेर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहे के कसरी अघि बढ्ने मोडालिटी तय गर्न कार्यदल बनाइएको बोर्डले जनाएको छ ।


