काठमाडौँ – काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ ।
जेठ २० गतेसम्म वैकल्पिक विधिबाट परीक्षा सम्पन्न गरी मसान्तसम्म नतिजा प्रकाशन गर्न महानगरपालिकाले सर्कुलर गरेको हो । विद्यालयको अनुकूलताअनुसार अनलाइन, अफलाइन, टेलिफोनलगायत यसअघि सञ्चालित परीक्षाका आधारमा नतिजा प्रकाशन गर्न सकिने शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जनाए । असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने व्यवस्था मिलाउने महानगरपालिकाले ताकेता गरेको हो ।
कतिपय निजी विद्यालयले नतिजा प्रकाशन गरेर नयाँ शैक्षिक सत्रको अनलाइन पठनपाठनसमेत सुरु गरिसकेका छन् । कक्षा ८ को नगरस्तरीय परीक्षाका विषयमा भने छिट्टै निर्णय लिएर सूचना जारी गरिने सुवेदीले बताए । शिक्षा मन्त्रालयले गत वर्षको कोरोना महामारीका कारण वैशाखबाट सुरु हुने शैक्षिक सत्रलाई असारमा सारेको थियो ।


